कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध कांग्रेस सडकमा जाने
काठमाडौं । कम्युनिस्ट सरकारको ज्यादतीविरुद्ध नेपाली कांग्रेसले सडक आन्दोलन गर्ने रणनीति बनाउने भएको छ ।
केपी ओली नेतृत्वको सरकारविरुद्ध कांग्रेसको महासमिति बैठकबाट आन्दोलनको रणनीति बनाउने आन्तरिक तयारी गरेको हो ।
शनिबारदेखि काठमाडौंको रामशहापथस्थित एक पार्टी प्यालेसमा शुरु भएको महासमिति बैठकमा कांग्रेसले सरकारविरुद्धको आन्दोलन गर्ने औपचारिक प्रस्ताव राख्ने तयारी गरेको हो ।
कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारविरुद्ध तीन वटा प्रदर्शन गर्ने प्रस्ताव राख्ने बताएका छन ।
उदघाटन कार्यक्रममा उपसभापति निधिले सरकारविरुद्ध आन्दोलन गर्ने प्रस्ताव राखे । उनले महासमितिको बन्दसत्रमा सरकारविरुद्धको आन्दोलनको कार्यक्रम गर्ने प्रस्ताव औपचारिक रुपमै राख्ने बताए ।
‘सरकारविरुद्ध पुस, माघ र फागुन महिनामा एक–एक वटा प्रदर्शनको कार्यक्रम गर्नुपर्छ’, उनले उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘प्रत्येक महिनाको अन्तिम साता देशभरि सबै जिल्लामा प्रदर्शन गर्नुपर्छ ।’
निधिले प्रस्ताव अगाडि बढाएका कार्यक्रमको समय र स्वरुप महासमितिको बैठकले दिने निर्देशनमा भर पर्ने पनि बताए ।
उपसभापति निधिले वर्तमान सरकारले देशमा शान्ति सुरक्षा दिन नसकेको भन्दै भने, ‘निर्मला पन्तका हत्यारा र दोषीहरूलाई संरक्षण गरेको छ । मूल्यवृद्धि भएको छ । जताततै अराजकता छ । तस्करहरूलाई संरक्षण भएको छ । बुद्धिजीवीहरूलाई ठहरै पार्ने भनेर धम्की दिइएको छ । प्रेसमाथि अंकुश लगाउने प्रयास भएको छ । यो सबै अधिनायकवादको संकेत हो ।’
प्रधानमन्त्री ओलीको कार्यशैली र अराजक अभिव्यक्तिले मुलुकलाई अधिनाायकवादतर्फ लैजान लागेको निधिको आरोप थियो ।
‘मुलुकलाई कम्युनिस्टहरूको अधिनायकवादबाट कांग्रेसले मात्रै जोगाउन सक्छ’, उनले भने, ‘यो सरकारको गलत कुराको विरोध गर्न पनि सडक आन्दोलन अनिवार्य छ ।’
कांग्रेसले महासमिति बैठकबाट संसदमा पनि आफूलाई सशक्त प्रतिपक्षका रुपमा उभ्याउने तयारी गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत