नवीकरण गरेका तर, अध्यावधि नगरेका ठूलो संख्याका क्रियाशील सदस्यहरूलाई गगनले कांग्रेसबाट निकाले

दमक । भृकुटीमण्डप भेलाबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगन थापाले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गरेका तर, अध्यावधि नगरेकाहरूलाई कांग्रेसले नचिन्ने बताएका छन् ।

मंगलबार नेपाली कांग्रेस, झापाले आयोजना गरेको कार्यक्रममा गगनले नवीकरण भएका तर, अध्यावधि नगरेका क्रियाशील सदस्यहरूलाई सिस्टमले नचिन्ने भन्दै पार्टीबाट निकालेको घोषणा गरेका छन् । गगनको भनाइअनुसार अध्यावधि नगर्नेलाई सिस्टमले नचिन्ने र कांग्रेसले पनि नचिन्ने भन्दै उनीहरूलाई कांग्रेसबाट हटाएको सन्देश दिएका छन् ।

गगनले भने, ‘तपाईहरूमध्ये कसैले अध्यावधि गर्नु भएको छैन भने मलाई क्षमा गर्नु होला । अध्यावधि नभएको कोही पनि सदस्यलाई नेपाली कांग्रेस पार्टीले सम्मान गर्छ, माया गर्छ । तर, पार्टी सदस्यको रुपमा चिन्दैन ।’

‘सिस्टमले चिन्दैन । मैले चिन्छु । तपाईलाई व्यक्तिगत रुपमा चिन्छु मैले । जय नेपाल गर्छु । तर, सिस्टमले चिन्दैन,’ गगनले भने ।

गगनले अध्यावधि नगरेका क्रियाशील सदस्यहरूलाई कांग्रेस पार्टीबाट निकालिएको सन्देश र संकेत गरेका छन् । गगनको भनाइले नवीकरण गरेर १५औँ महाधिवेशनका लागि तयारी अवस्थामा बसेका ४ लाखभन्दा धेरै क्रियाशील सदस्यहरूलाई झट्का लागेको छ । गगनको यो अभिव्यक्तिले कांग्रेसलाई ठूलो तनाब दिएको छ ।

झापामा गगनले दिएको अभिव्यक्तिपछि २४ घण्टामा ठूलो संख्यामा कांग्रेस छाड्ने र अध्यावधि नगर्ने भनेर सामाजिक सञ्जालमा नेता तथा कार्यकर्ताहरूले धमाधम लेखिरहेका छन् ।

‘सिस्टमले क्रियाशील तपाईको भोट हाल्ने ठाउँमा आइपुग्दैन,’ गगनले भने, ‘अब वडाको अधिवेशन शुरु हुन्छ । वडाको अधिवेशन शुरु हुँदै गर्दा अध्यावधि नभएको साथीहरूको तल निर्वाचनको प्रतिनिधिले कपी बोकेर आउँदै गर्दा अध्यावधि नभएको साथीहरूको बोकेर आउनु हुन्न । सिस्टममा आउँदैन । चिनिन्न ।’

भृकुटीमण्डप भेलालाई कथित विशेष महाधिवेशन भनेर गगनले नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका छन् । गगनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले आधिकारिकता दिएको छ ।

गगनले आफ्ना विरोधीहरूलाई अनुशासनको बहानामा धेरैलाई कारबाही गरिसकेका छन् । बाँकीलाई अध्यावधिका नाममा पार्टीभन्दा बाहिर राखेर साधारण सदस्यताबाट समेत हटाउन खोजेका छन् । १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा गगनले अध्यावधिका नाममा कांग्रेसको विधान विपरीतको गतिविधि गरिरहेका छन् ।

गगनले वडामा पुगेर अध्यावधि गर्नुपर्ने भनेर नियम बनाएका थिए । ८० प्रतिशत क्रियाशील सदस्यहरू वडामा नगए पनि आफैले क्रियाशील सदस्यता अध्यावधिको व्यवस्था गरेका थिए । त्यसले पनि नभएपछि गगनलाई तनाब भएको छ । नयाँ र पुरानो गरेर करीव आधारले मात्रै अध्यावधि गरेको दाबी छ ।

कांग्रेसको करीव ८ लाख क्रियाशील सदस्य छन् । तीमध्ये आधाभन्दा थोरैले अध्यावधि गरेको चर्चा छ । बाँकीलाई गगनले कांग्रेसबाटै निकालेको अघोषित निर्णय गरिसकेका छन् ।

Published : Wednesday, 2026 June 24, 12:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया