देवराजले शिवको आदेश पालना गर्दा जर्मन, डेनमार्क र बेल्जियम कांग्रेसलाई धक्का

ह्यामबर्ग । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे आफ्नो नाता पर्ने शिव अधिकारीको गलत सुझाव र सल्लाहमा लागेर जर्मन, डेनमार्क, बेल्जियमका नेपाली जनसम्पर्क समितिका आधिकारिक कार्यसमितिलाई बाइपास गरेर गतिविधि गरेको भन्दै आलोचना भएको छ ।

गगन थापाले भृकुटीमण्डप भेलालाई कथित विशेष महाधिवेशन भनेर नेपाली कांग्रेस पार्टी कब्जा गरेका थिए । पार्टी कब्जा गर्ने बेला चालिसेको भूमिका पनि महत्वपूर्ण थियो । त्यस बेला जे भए पनि निर्वाचन आयोग र सर्वोच्च अदालतबाट गगन थापा समूहले आधिकारिकता पाएपछि सबैलाई मिलाएर लैजान्छन् भन्ने अपेक्षा स्वदेश तथा विदेशमा रहेका कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको थियो । अहिले आएर राजनीतिक प्रतिशोध राखेर गगन थापा समूहले कथित विशेष महाधिवेशनमा नलागेकाहरूलाई पहिचान गरेर पाखा लगाउने कार्य भइरहेका छन् ।

कांग्रेसका प्रवक्ता चालिसे बौद्धिक र सालिन नेतामा पर्छन् । कांग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा पराजित भएका चालिसेले आफूले बिगतमा भोगेको पीडाबाट शिक्षा लिएर भेदभाव नगरेर कांग्रेसको राजनीति गर्छन् कि भन्ने अपेक्षा थियो । तर, प्रवक्ता चालिसेमा पनि गगन थापा कै शैलीमा प्रतिशोधको राजनीति र संस्कार मौलाएपछि चिन्ताको विषय बनेको छ ।

कांग्रेसका प्रवक्ता चालिसे जनसम्पर्क समितिहरूको कार्यक्रम राखेर हाल युरोप भ्रमणमा छन् । चालिसे युरोपका जर्मन, डेनमार्क र बेल्जियममा पुगेका छन् । तर, जर्मन, डेनमार्क र बेल्जियममा रहेका आधिकारिक नेपाली जनसम्पर्क समितिहरूलाई प्रवक्ता चालिसे आएको र कार्यक्रम राखिएको विषयमा औपचारिक जानकारी नै छैन । आफ्नो नातेदार पर्ने शिव अधिकारीको खटनपटनमा प्रवक्ता चालिसेले युरोपमा रहेका नेपाली जनसम्पर्क समितिहरूसँग समन्वय नगरेर गतिविधि गरेपछि व्यापक असन्तुष्टि बढेको छ ।

प्रवक्ता चालिसेले नेपाली जनसम्पर्क समितिहरूलाई नेपाली कांग्रेस र देशको समग्र हितमा जोड्ने अवसरलाई गुमाएको आरोप कांग्रेसका शुभेच्छुकहरूले लगाएका छन् ।

शिव अधिकारीमार्फत सबै जनसम्पर्क समितिहरूमा प्रवक्ता चालिसेको भ्रमणको फरमान फैलाउँदै, बिधि र प्रणाली मार्फत चुस्त संगठन बनाउन त परको कुरा भोजभतेरमा रमाउदै कांग्रेसका शुभेच्छुक र कार्यकर्ताहरूलाई हप्कीदप्की गर्ने गरिएको आरोप छ ।

प्रवक्ता चालिसेले जर्मनीबाट आफ्नो युरोप यात्रा शुरु गरेका हुन् । जर्मनी आएको जानकारी प्रवक्ता चालिसेले नेपाली जनसम्पर्क समिति, जर्मनीलाई समेत गरेका थिएनन् । आफ्ना आसेपासेलाई मात्र चेपेर चालिसे भोजभतेरतिर लागेको आरोप छ ।

प्रवक्ता चालिसे जर्मनीपछि बेल्जियम गएका छन् । चालिसेले बेल्जियमका कांग्रेसका शुभेच्छुक तथा कार्यकर्ताहरूसंग अन्तरक्रिया गर्न छोडेर गुट पहिलाउँदै हिँडेको र रचनात्मक बहसमार्फत कांग्रेसको संगठन निर्माणको काम नगरेको आरोप छ ।

बेल्जियमपछि चालिसे डेनमार्क गएका छन् । अधिबेशनमार्फत निर्वाचित नेपाली जनसम्पर्क समिति, डेनमार्कको समितिलाई चालिसेले बेवास्ता गरेका छन् । आसेपासे र जिल्लाबासी (कास्की)का २/४ जनाको समूहमा भोजभतेर गरेर रमाएको आरोप छ ।

डेनमार्कमा प्रवक्ता चालिसेले अन्तरघातीहरूसँग साँठगाँठ गरेका थिए । फागुन २१ गतेको आमनिर्वाचनमा रास्वपा र राप्रपालाई सामाजिक संजालमार्फत भोट मागेका अन्तरघातीलाई राखेर रमाइलो गरेको आरोप छ ।

प्रवक्ता चालिसेले आफूले जर्मन, डेनमार्क र बेल्जियमका कांग्रेसका शुभेच्छुक तथा नेपाली जनसम्पर्क समितिहरूको चित्त दुखाएका छन् । यसको मूल्य चालिसेले भन्दा पनि नेपाली कांग्रेस पार्टीले समय आउँदा चुकाउनुपर्नेछ ।

Published : Monday, 2026 June 22, 10:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया