डेनमार्कमा प्रतिशोध राख्दै देवराजद्वारा कांग्रेसको आधिकारिक समितिलाई बेवास्ता, अबैधहरूको कीर्ते हर्कतले भाँडभैलो
कोपनहेगन । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेको डेनमार्क भ्रमणलाई लिएर नेपाली जनसम्पर्क समिति, डेनमार्क र पार्टी केन्द्रबीचको विवाद सतहमा आएको छ ।
जनसम्पर्क समिति, डेनमार्कले पार्टीको आधिकारिक संरचना र संस्थागत प्रक्रियालाई बेवास्ता गर्दै गतिविधि सञ्चालन गरिएको आरोप लगाउँदै केन्द्रीय नेतृत्वको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ । प्रवक्ता चालिसे आधिकारिक समितिलाई बेवास्ता गर्दै केही व्यक्तिहरूको उक्साहटमा लागेर नेपाली जनसम्पर्क समिति, डेनमार्कलाई विभाजन गर्ने गतिविधिमा लागेका छन् । प्रवक्ता चालिसे हाल डेनमार्कमा छन् ।
समितिका अनुसार कांग्रेस केन्द्रीय कार्यालय, सानेपाबाट प्रवक्ता चालिसेको डेनमार्क भ्रमणबारे कुनै औपचारिक जानकारी, पत्राचार वा समन्वय गराइएको छैन । कीर्ते गतिविधि गर्दै केही व्यक्तिले सामाजिक सञ्जालमार्फत विभिन्न कार्यक्रम सार्वजनिक गरेर भ्रम छरेका छन् । कीर्ते गतिविधिलाई लिएर डेनमार्कस्थित कांग्रेस कार्यकर्ताबीच असन्तुष्टि बढेको छ । नेपाली जनसम्पर्क समिति, डेनमार्कले सामाजिक सञ्जालमा आएका कार्यक्रमसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट गरेको छ ।
डेनमार्कमा कांग्रेस समर्थकहरूबीच लामो समयदेखि सक्रिय रहेको नेपाली जनसम्पर्क समिति, डेनमार्कले आफूलाई पार्टीको आधिकारिक प्रवास संगठन भएको दाबी गर्दै आएको छ । समितिका अनुसार छैटौँ अधिवेशनबाट निर्वाचित अध्यक्ष यादव बस्नेतको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिलाई नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वैधानिक मान्यता प्रदान गरेको छ । उक्त मान्यता हुँदाहुँदै पनि आधिकारिक संरचनालाई बेवास्ता गर्दै अन्य समूह र गतिविधिलाई प्राथमिकता दिइएको आरोप लगाइएको छ । समितिले प्रवक्ता चालिसेलाई सहयोग गर्न चाहन्छ । तर, केही गलत उद्देश्य बोकेका दुई÷चार जनाको कीर्ते गतिविधिबाट कांग्रेसका साथै प्रवक्ता चालिसे र आधिकारिक जनसम्पर्क समितिलाई डेनमार्डमा धक्का लाग्ने देखिएको छ ।
समितिका अनुसार संगठनात्मक सुदृढीकरणका लागि करिब सात महिनासम्म आधिकारिक फेसबुक पेजमार्फत अनलाइन आवेदन खुला गरी क्रियाशील सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण तथा जनसम्पर्क समितिको शुल्क र कार्यसमितिको लेभीसमेत केन्द्रमा बुझाइसकिएको समितिले जनाएको छ । आवश्यक सदस्यता विवरण, प्रमाण र अभिलेखहरू समेत केन्द्रमा पठाइसकिएको समितिले जनाएको छ ।
विवादको अर्को महत्वपूर्ण पक्ष भने सदस्यता अध्यावधिक प्रक्रियासँग जोडिएको छ । समितिले नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट जारी भएका पत्रहरूलाई आधार बनाउँदै आफूहरूमाथि विभेदपूर्ण व्यवहार गरिएको आरोप समितिले लगाएको छ । असार ३, २०८३ मा जारी एक पत्रमा केही जनसम्पर्क समितिहरूलाई क्रियाशील सदस्यता अध्यावधिकका लागि एक्सल सिट र पीडीएफ मार्फत विवरण पठाउन सकिने तथा आवश्यक प्रक्रिया पूरा भए केन्द्रबाटै अध्यावधिक गरिने व्यवस्था गरिएको समितिले जनाएको छ ।
नेपाली जनसम्पर्क समिति, डेनमार्कका अनुसार आफूहरूले केन्द्रले मागेका सम्पूर्ण विवरण, प्रमाण, शुल्क र लेभीसहितका कागजात पीडीएफ फारमेटमा पठाउँदा स्वीकार नगरिएको जनाइएको छ । बरु अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत अध्यावधिक गर्नुपर्ने बताइएको थियो । त्यसपछि समितिले अनलाइन प्रणाली प्रयोग गर्न आवश्यक युजरनेम र पासवर्ड उपलब्ध गराउन पटक–पटक आग्रह गरे पनि कुनै जवाफ नपाएको दाबी गरेको छ ।
समितिले यसलाई पार्टी केन्द्रको “दोहोरो मापदण्ड”को उदाहरणका रूपमा व्याख्या गरेको छ । उनीहरूको दाबीअनुसार केही अन्य जनसम्पर्क समितिहरूलाई एक्सल सिट र पीडीएफ मार्फत विवरण पठाउन छुट दिइएको, आवश्यक युजरनेम तथा पासवर्ड उपलब्ध गराइएको र अनलाइन प्रणाली प्रयोग नगरी पनि प्रक्रिया अघि बढाउन सहजीकरण गरिएको थियो । डेनमार्कस्थित आधिकारिक समितिलाई भने फरक व्यवहार गरिएको आरोप लगाइएको छ ।
समितिको भनाइमा यसले संस्थागत निष्पक्षता, पारदर्शिता र विधिसम्मत प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ । विदेशस्थित कार्यकर्ताहरूले पार्टीको विधि, विधान र निर्णय प्रक्रियाभन्दा बाहिर गएर गतिविधि सञ्चालन भइरहेको आरोप लगाउँदै यसले नेपाली काँग्रेसको गरिमा, प्रतिष्ठा र राजनीतिक विरासतमा असर पुर्याएको बताएका छन् ।
यस घटनाक्रमसँगै केही केन्द्रीय नेताहरूको भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ । यद्यपि, यस सम्बन्धमा नेपाली कांग्रेस केन्द्रीय नेतृत्व वा सम्बन्धित पक्षबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।
जनसम्पर्क समिति, डेनमार्कले प्रवक्ता चालिसेको डेनमार्क भ्रमण पूर्ण रूपमा व्यक्तिगत रहेको दाबी गर्दै हाल आफ्नो तर्फबाट कुनै औपचारिक भेटघाट वा कार्यक्रम नरहेको जनाएको छ । साथै, पार्टी नेतृत्वलाई विधि, विधान, संस्थागत निर्णय र आधिकारिक संगठनको सम्मान गर्न तथा विदेशस्थित कार्यकर्ताहरूको योगदानको उचित मूल्यांकन गर्न आग्रह गरेको छ ।
नेपाली जनसम्पर्क समिति, डेनमार्कले पार्टीसँग समन्वय गरेर काम गर्न खोज्दाखोज्दै केही स्वार्थ समूहको प्रलोभन र चङ्गुलमा हालको पार्टी नेतृत्वका केही नेताहरू परेपछि डेनमार्कमा समस्या उत्पन्न भएको छ । चालिसे व्यक्ति होइनन् । कांग्रेसको प्रवक्ता हुन् । केही विवाद छभने पनि दुबै पक्षसँग समन्वय गरेर विवाद मिलाउनुपर्ने थियो । विवाद मिलाउनेभन्दा पनि यादव बस्नेत नेतृत्वको आधिकारिक जनसम्पर्क समितिलाई बेवास्ता गरेर कांग्रेसको विधानले नचिनेका व्यक्तिहरूको पक्षमा देखिएपछि विवाद भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया