राप्रपाको बैठकलाई शीर्ष नेताहरूद्वारा बहिस्कार, मंसिरमा महाधिवेशन प्रस्ताव
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको बैठकलाई पूर्वअध्यक्षसहितका नेताहरूले बहिष्कार गरेका छन् ।
शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकमा पूर्वअध्यक्षहरू पशुपतिशम्शेर राणा, डा प्रकाशचन्द्र लोहनी र कमल थापासहित उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही, कार्यसम्पादन समिति सदस्य अर्जुन राई, हरिबहादुर बस्नेत, सहायक प्रवक्ता प्रवीण थोकर, सहायक महामन्त्री प्रेमबहादुर रैयार, सहायक महामन्त्री ऋषि देवकोटा, सह–महामन्त्री रीना गुरुङलगायतका केन्द्रीय सदस्यहरू बैठकमा अनुपस्थित रहेका हुन् ।
उनीहरूले केन्द्रीय समिति सदस्यबाहेक अन्य व्यक्तिलाई पनि बैठकमा सहभागी गराइएको भन्दै बैठक बहिष्कार गरेको बताइएको छ । उनीहरुले बैठकमा केन्द्रीय सदस्यलाई मात्रै सहभागी गराउनुपर्ने भएपनि चुनाव हारेकाहरूलाई समेत सहभागी गराइएको भन्दै आक्रोश पोखेका छन् ।
बहिष्कारमा सहभागी केन्द्रीय सदस्य जनकराज पाठकले पार्टीको विधि र विधानविपरीत केन्द्रीय समिति सदस्यभन्दा बाहिरका व्यक्तिलाई उपस्थित गराएर बैठक सञ्चालन गर्न लागिएकाले आफूहरू बैठकमा सहभागी नभएको बताए ।
बैठक बहिष्कार गर्ने पक्षले पार्टीको आन्तरिक प्रक्रिया र विधानको पालना हुनुपर्ने मागसमेत गरेको छ ।
यसैबीच, राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबारदेखि काठमाडौंमा शुरु भएको केन्द्रीय समिति बैठकमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका हुन् ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीलाई अब परम्परागत शैलीबाट मुक्त गरी नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताए । उनले महाधिवेशनलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी बनाउनुपर्नेमा जोड दिए महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको अवस्थामा अब कुनै पनि ढिलासुस्ती र अन्योल सह्य नहुने उनको भनाइ थियो । उनले निर्वाचन समितिलाई पूर्ण विश्वासमा लिएर काम गर्न निर्देशन दिँदै देशभरका कार्यकर्तालाई महाधिवेशनको वातावरण निर्माणमा जुट्न आह्वान गरेका छन् ।
अध्यक्ष लिङ्देनले पार्टीभित्र देखिएका असन्तुष्टि र पार्टी छोडेर जानेहरूप्रति लक्षित गर्दै उनीहरूले नै राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा बनेको जनमत र वातावरणलाई बिगार्ने काम गरेको बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया