सिंहदरबारमा अदृष्य गिरोहले खुनी जंगलराज जन्माउँदै छ, अख्तियारलाई हुकुम दिने को हो : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसा सांसद खड्गबहादुर बुढा मगरले सिंहदरबारबाट कुनै अदृष्य शक्तिले खुनी जंगलराज जन्माउन खोजेको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको बैठकमा आकिस्मक समय लिएर बोल्दै कांग्रेस सांसद बुढाले प्रधानमन्त्री कार्यालयमा बसेर अदृष्य शक्तिले हुकुमी शासन सञ्चालन गर्न खोजेको बताए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहितका उच्च अधिकारीहरू र एकजना राजदूतलाई ९ घण्टासम्म राखेर दुर्व्यवहार गर्नु विधिको शासन विपरीत रहेको बताए ।
उनले भने, ‘हामी यो देशमा विधिको शासन चलाउँदै छौँ कि ? सिंहदरबारभित्र कुनै अदृष्य गिरोहको खुनी जंगलराज जन्माउँदै छौँ ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लगायतका अधिकारीहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ९ घण्टासम्म राखेर उनीहरूमाथि दबाब सिर्जना गरिएको, विशेष व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गर्न निर्देशन दिएकोे भन्ने समाचार सार्वजनिक भएको छ ।’
‘त्यसपछि यस विषयमा पनि थप समाचार प्रकाशित भएका छन् । ती समाचारका अनुसार अख्तियारका अधिकारी मात्र होइन, एकजना विदेश राजदूतमाथि समेत प्रधानमन्त्री कार्यालयमा दुर्व्यवहार भएको भन्ने आरोप सार्वजनिक भएका छन्,’ उनले भने, ‘म नेपाली कांग्रेसको तर्फबाट स्पष्ट भन्न चाहन्छु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर भ्रष्टाचारका कुनै पनि घटनामाथि छानबिन गर्नुपर्छ ।’
सांसद बुढाले भने, ‘जसले सार्वजनिक पदको दुरुपयोग गरेको छ, जसले भ्रष्टाचार गरेको छ, उसमाथि कानून बमोजिम अनुसन्धान र कारबाही हुनुपर्छ । त्यो व्यक्ति नेपाली कांग्रेसको नेता होस्, कुनै अर्को दलको नेता होस्, पूर्वप्रधानमन्त्री होस् वा वर्तमान पदाधिकारी हुन्, कानूनभन्दा माथि कोही छैन ।’
‘यस विषयमा नेपाली कांग्रेसको धारणा स्पष्ट छ । लोकतान्त्रिक व्यवस्थामा हामीले परिणाम मात्रै हेरेर पुग्दैन,’ उनले भने, ‘परिणाममा पुग्ने प्रक्रिया विधिसम्मत छ कि छैन ? प्रक्रिया स्थपित कानून बमोजिम छ कि छैन ? भन्ने कुरा मुख्य हुन्छ ।’
कांग्रेसका सांसद बुढाले भने, ‘सिङ्गो देश आज स्तब्ध छ । लोकतन्त्र, विधि, पद्धति, प्रक्रिया, संवैधानिक संस्था र संविधानमा विश्वास गर्नेहरू आज सरकारको स्वयच्छचारिता देखेर अचम्मित भएका छन् ।’
‘प्रधानमन्त्रीजीले बुझ्नु भएको छ कि छैन ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्री कार्यालय मातहतको सतर्कता केन्द्र होइन । संवैधानिक अंग हो,’ बुढाले भने, ‘यसको मुख्य जिम्मेवारी नै आवश्यक परेका बेला सरकारमाथि पनि निगरानी राखेर राज्यशक्तिमा चेक एण्ड ब्यालेन्स कायम गर्ने हो ।’
‘अख्तियार कसैको गोजीको संस्था कदापि होइन । आज प्रधानमन्त्री कार्यालयले अख्तियारलाई तर्साएर आफ्नै पक्षमा निर्णय गराउँछ,’ सांसद बुढाले भने, ‘भोलि सोही प्रधानमन्त्रीले बदमासी गर्दा कसले छानबिन गर्ने ? पञ्चायतकालमा भूमिगत गिरोहको बारेमा चर्चा गरेको विषय मैले सुनेको थिए । ठ्याक्कै त्यस्तै आज लोकतान्त्रिक गणतन्त्रमा एउटा अर्को प्रकारको गिरोहको चर्चा हुन थालेको छ ।’
सांसद बुढाले भने, ‘प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई चलाउने र हुकुम चलाउने को हुन् ? तिनीहरू नेपालको संविधान र कानून नचिनेका केवल कालो चस्मा लगाएर राज्यका संयन्त्रहरू कब्जा गर्न बसेका नयाँ गिरोहका सदस्य हुन् ।’
‘जनतामा एउटा गम्भीर चिन्ता छ । निर्णय गर्ने ठाउँमा निर्वाचित मन्त्रीहरू छन् । तिनको पर्दा पछाडि बसेका अरु कोही मन्त्रालयमा मन्त्रीहरू केवल देखाउने अनुहार मात्रै हुन र वास्तविक निर्णय अरु कसैले गरिरहेको छभन्ने कुरा ब्यापक गुनासो छ,’ उनले भने ।
‘यदि यस्ता आरोपहरू सत्य हुन् भने लोकतन्त्रका लागि शुभसंकेत होइन । लोकतन्त्र संस्थाले चल्छ । व्यक्ति होइन । संविधानले चल्छ । अदृष्य शक्ति केन्द्रले होइन,’ कांग्रेसका सांसद बुढाले भने ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया