संकटका बेला साथ नपाएपछि समर्थकहरूलाई भावुक बनाउँदै महराले सक्रिय राजनीति त्यागे
काठमाडौं । पूर्व सभामुख समेत रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराले ४८ वर्षीय सक्रिय राजनीतिबाट विश्राम लिएको जनाएका छन् ।
बिहीबार आफ्नो जन्मदिनको अवसर पारेर प्रेस विज्ञप्ति जारी गर्दै नेता महराले आफू सक्रिय राजनीतिमा नरहने बताएका हुन् । उनले आफ्नो स्वास्थ्यका कारण सक्रिय राजनीतिमा सहभागी नहुने बताएका छन् ।
माओवादी सत्तामा रहेका बेला विभिन्न पदहरूमा रहेर काम गरेका महराले एकाएक आफूलाई सक्रिय राजनीतिबाट अलग गराएका छन् । महरालाई विभिन्न काण्ड लागेका छन् । ती काण्डको बहानामा बिरामी महरालाई पटक पटक पक्राउ गरेर राज्यका निकायले प्रतिशोधात्मक रुपमा थुनामा राख्ने कार्य गरेका थिए । आफ्नो पक्षमा आवाज उठाइदिने परिवारका सदस्य र न्यायालय बाहेक कसैलाई पनि महराले यो समयमा पाएनन् । महराले सक्रिय राजनीतिबाट बिश्राम लिँदै गर्दा समर्थकहरूलाई भावुक बनाइदिएका छन् ।
महराले भनेका छन्, ‘केही वर्षयता म एट्रोफी (ब्तचयउजथ) सम्बन्धी रोगबाट पीडित छु । नसाहरू र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने यस समस्याका कारण नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन सकेको छैन । परिणामस्वरूप, पार्टीका नियमित गतिविधि र जिम्मेवारीहरूमा विगतझैं सक्रिय, प्रभावकारी र जिम्मेवार ढंगले योगदान गर्न कठिन हुँदै गएको छ ।’
‘यस यथार्थलाई आत्मसात गर्दै, निकै गह्रौं मनका साथ आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु,’ महराले भने, ‘यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम हो ।’
‘पार्टी जीवनको अन्तरसंघर्ष, नेतृत्व निर्माण र नेपालको राष्ट्रिय स्वाधिनताको सवालमा म सधै इमानदार र प्रतिबद्द रहिरहे । पार्टीमा बिताएका वर्षहरू, आन्दोलनका स्मृतिहरू, सहकर्मी साथीहरूको आत्मीयता र देश तथा जनताप्रतिको मेरो प्रेम र प्रतिबद्धता कहिल्यै समाप्त हुने छैन,’ नेता महराले भने ।
‘मेरो शरीर कमजोर भए पनि देशप्रतिको चिन्ता, जनताप्रतिको माया रासमृद्ध नेपालको सपना अन्तिम श्वाससम्म जीवित रहनेछ,’ नेता महराले भनेका छन् ।
उनले भने, ‘म दृढ विश्वास व्यक्त गर्दछु कि नयाँ पुस्ताका ऊर्जावान युवाहरूले देशलाई अझ समृद्ध, आत्मनिर्भर र सम्मानित राष्ट्रका रूपमा स्थापित गर्नेछन् । उनीहरूको सफलतामा नै हाम्रो पुस्ताको संघर्ष र योगदानको सार्थकता रहनेछ ।’
‘यस लामो यात्रामा साथ, सहयोग, सद्धाव र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ पूर्व सभामुख महराले भने ।
विगत करिब ४८ वर्षदेखि नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न चरण, उतारचढाव, संघर्ष र परिवर्तनका यात्रामा आफू निरन्तर रूपमा सहभागी रहँदै आएको महराले स्मरण गरेका छन् ।
उनले भने, ‘अवधिमा नेकपा चौथो महाधिवेशन, नेकपा मशाल, नेकपा एकता केन्द्र, नेकपा (माओवादी), एनेकपा माओवादी, नेकपा माओवादी केन्द्र हुँदै हाल नेपाली कम्युनिष्ट पार्टीसम्म आइपुग्दा मैले आफ्नो क्षमता, समय र जीवनको महत्वपूर्ण हिस्सा पार्टी, आन्दोलन, देश र जनताको सेवामा समर्पित गरेको छु ।’
‘यो यात्रामा मैले असंख्य साथीहरू, जनता र परिवारको माया, विश्वास र सहकार्य प्राप्त गरेको छु, जसप्रति म सदैव कृतज्ञ रहनेछु,’ नेता महराले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया