रास्वपा सांसद श्रेष्ठले आफ्नै दाईलाई दिइन् संसदबाट श्रद्धाञ्जलि, यही हो सांसदको स्तर ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रजनी श्रेष्ठले आफ्ना दाईको सडक दुर्घटनामा परेर मृत्यु भएकोमा संसद बैठकबाट श्रद्धाञ्जलि व्यक्त गरेकी छिन् ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै समानुपातिक सांसद श्रेष्ठले आफ्ना दाई ईन्द्रबहादुर श्रेष्ठप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेकी हुन् ।

सांसद श्रेष्ठले भनिन्, ‘मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नं. ९ निवासी हाम्रो दाई इन्द्रबहादुर श्रेष्ठको विराटनगर न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएकोमा म अत्यन्तै स्तब्ध भएको छु । मृतकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

‘गत शुक्रबार बेलुका बाटोमा हिडिरहेका क्रममा बाइकले ठक्कर दिँदा घाइते हुनु भएको र उपचारका क्रममा निधन भएको कारणले गर्दा छानविन गरी दोषीलाई कडा कारबाही अनुरोध गर्दछु सरकारमार्फत,’ सांसद श्रेष्ठले भनेकी छिन् ।

सांसदहरू आकस्मिक समयमा संसदमा के विषयमा बोल्ने ? के विषयलाई उठान गर्ने भन्नेबारे ध्यान जरुरी छ । सांसद भनेको राष्ट्रिय विषयलाई उठान गर्नुपर्छ । घर, परिवारभित्रको कुरालाई संसदको बैठकमा राखेर के गर्न खोजिएको हो ? गम्भीर प्रश्न उठेको छ ।

सांसदले आफ्नो पदीय गरिमाको बारेमा बुझ्न नसक्दा यस्तै समस्या उत्पन्न हुन्छन् । आफ्नो दाईको सडकमा दुर्घटनामा मृत्यु भएको विषयलाई सांसद जस्तो व्यक्तिले संसदमा आकस्मिक समय माग गरेर श्रद्धाञ्जलि व्यक्त गर्ने कार्यले रास्वपाका सांसदहरूको स्तरलाई देखाइदिएको छ ।

Published : Wednesday, 2026 June 17, 1:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया