ईतिहाँसको कठिन अवस्थामा रहेको देशलाई निकास दिन कांग्रेसलाई जनताको साथ चाहिएको छ : योगेन्द्र चौधरी

लमही । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् दाङ क्षेत्र नं. १ का उम्मेदवार योगेन्द्र चौधरीले देश ईतिहाँसको कठिन घडीमा रहेको भन्दै एक पटक फेरि जनताको साथ कांग्रेसलाई चाहिएको बताएका छन् ।

शनिबार दाङ क्षेत्र नं. १ को लमही नगरपालिका वडा नं.९ कोल्तरामा आयोजित चुनावी प्रचार प्रसारको कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले देश संकटमा परेका बेला पटक पटक कांग्रेसले जनताको साथ र समर्थन लिएर निकास दिएको बताए । उनले फेरि कांग्रेसलाई जिताएर कठिन अवस्थामा रहेको देशलाई निकास दिनका लागि कांग्रेसलाई विजयी बनाउन आग्रह गरे ।

सहमहामन्त्री चौधरीले भने, ‘राजनीति किसानको हो । राजनीति विपन्न मान्छेको हो । उनीहरूको जीवन बदल्नका निम्ति हो भनेर पाठ सिकाउने वीपी कोइरालाका कार्यकर्ता हौँ हामी ।’

‘ईतिहाँसको यो कठिन घडीमा उभिएको देशलाई हामीले निकास दिनुपर्नेछ । देश कता जाने हो त्यो अन्यौलताको स्थितिमा छ,’ उनले भने ।

‘कांग्रेसले जनताको भरोसा र साथ खोजीरहेको छ । जनताको साथ र भरोसा खोज्न कांग्रेस आएको छ,’ उनले भने, ‘देशलाई कांग्रेसले निकास दियो । गन्तव्य दियो । आज ईतिहाँसको कठिन घडीमा कांग्रेसलाई ईतिहाँसले जिम्मेवारी दिएको छ । जनताको साथ कांग्रेसलाई चाहिएको छ ।’

उनले देशको विकास गर्न एक्लैले जितेर मात्रै नहुने भन्दै विकास गर्न कांग्रेसले बहुमत पाउन आवश्यक रहेको बताए । उनले भने, ‘विकास गर्नका निम्ति हरेक नेताले सपना देखेको हुन्छ । देशलाई कसरी बदल्न सक्छु भनेर सपना देखेको हुन्छ ।’

Published : Saturday, 2026 February 21, 8:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया