प्रधानमन्त्रीद्वारा निर्वाचनको सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले विभिन्न जिल्लाहरूको भ्रमण गर्नुका साथै मतदान केन्द्रहरूको सुरक्षामा भइरहेका तयारीबारे स्थलगत रिपोर्ट लिने गरेकी छिन् । उनले हिमाली जिल्लाका साथै तराईका जिल्लाहरूको पनि भ्रमण गर्दै आएकी छिन् । त्यस क्रममा उनले सुरक्षाकर्मीहरूलाई उच्च सतर्कताका साथ रहन निर्देशन दिएकी छिन् ।
कार्कीले एक हप्ताभित्र फागु पूर्णिमा अर्थात् होली पर्व आउँदै गरेको र हिमाली क्षेत्र खासगरी रूकुम पूर्वमा सम्भावित हिमपात जस्ता प्राकृतिक समस्याहरू देखा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेकी हुन् । उनले विभिन्न जिल्लाहरूमा स्थानीय समस्या रहेको उल्लेख गरेकी छिन् ।
तराई क्षेत्रमा केही राजनीतिक दलहरू बढी सक्रिय रहेको र तिनीहरूबीचको प्रतिस्पर्धा झडपको रूपमा बदलिन सक्ने प्रधानमन्त्री कार्कीले आशंका व्यक्त गरेकी छिन् ।
उनले पार्टीहरूबीच झन्डा जलाउने जस्ता घटना पनि रिपोर्ट भएका र जसले निर्वाचनको समयमा तनाव बढाउनसक्ने बताएकी छिन् । यस्ता सम्भावित घटनाबाट बच्न पूर्वतयारी आवश्यक रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ ।
निर्वाचन बहिस्कार गर्ने समूहहरूबारे बोल्दै प्रधानमन्त्री कार्कीले यस्ता बहिस्कारकर्ताहरूको प्रभावकारिता कमजोर देखिएको बताएकी छिन् ।
कतिपयले निर्वाचन बहिस्कारको नाममा पार्टीको अस्तित्व देखाउने र चन्दा असुली गर्ने प्रवृत्ति अपनाएको उनले बताएकी छिन् । कसैले व्यापार वा उद्योग गरेको देखाएर पार्टी चलाउने गरेको पनि कार्कीले उल्लेख गरेकी छिन् । यस्ता गतिविधिप्रति सतर्क रहनुपर्ने प्रधानमन्त्री कार्कीले बताएकी छिन् ।
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएकी छिन् ।
मतदानको समय फागुन २१ गते आउन लागेका बेला विभिन्न समूहहरूले निर्वाचन विरोधी गतिविधि गर्न खोजेका बेला प्रधानमन्त्री कार्कीले शान्ति सुरक्षाप्रति चासो चिन्ता देखाएकी छिन् । उनले निर्वाचन विरोधी गतिविधिहरूप्रति निगरानी गरेर निष्पक्ष र भयरहित मतदान गराउनुपर्ने बताएकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया