ललितपुर क्षेत्र नं. १ को मनीखोलामा एमाले र राप्रपाका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश
चापागाउँ । ललितपुरको महांकाल गाउँपालिका वडा नं. २ मानीखेलमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा कार्यकर्ताहरू पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
फागुन २१ गते निर्वाचनको मिति नजिकिदै गरेका बेला ललितपुर क्षेत्र नं. १ का कांग्रेसका उम्मेदवार एवम् सहमहामन्त्री उदयशम्शेर राणाले एमाले र राप्रपाका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।
कांग्रेस प्रवेश गर्नेहरूमा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका मानीखेल अध्यक्ष गजेन्द्र सिंगार, राप्रपा नेपालका काजी सिंगार, स्थानीय युवाहरू श्याम वाइबा, धर्म गोले, विवेक सिंगार र सुरेश वाइवा रहेका छन् ।
कांग्रेसका उम्मेदवार एवम् सहमहामन्त्री राणाले आगामी निर्वाचनलाई सामान्य प्रक्रिया मात्र नभई देश बचाउने शक्ति र अन्य शक्तिबीचको जनमत संग्रहको रूपमा व्याख्या गरेका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश सभाका सदस्य एवम् पूर्वमन्त्री मीनकृष्ण महर्जनले ललितपुर क्षेत्र नं. १ मा कांग्रेस बलियो अवस्थामा रहेको बताए । उनले दुर्गमका रुपमा हेरिएको ललितपुर १ को विकासका लागि प्रतिनिधि सभा निर्वाचनमा सहमहामन्त्री राणाको जित अनिवार्य रहेको बताए । उनले मतदाताहरू पनि युवा नेता राणाकै पक्षमा देखिएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया