अमेरिका मानव तस्करी गर्ने रुकुमका २ व्यक्तिसँग अर्बभन्दा धेरै सम्पत्ति भेटियो
काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान व्यूरोको अनुसन्धानका क्रममा अमेरिकामा मानवतस्करी गर्ने दुई व्यक्तिले अकुत सम्पत्ति आर्जन गरेको भेटिएको छ ।
रुकुमपश्चिमको बाफीकोट गाउँपालिका वडा नं. २ घर भएका कुलबहादुर बस्नेत र रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नं. २ घर भएका अमित बस्नेतविरुद्ध मानव बेचबिखन अनुसन्धान व्यूरोले जिल्ला अदालत, काठमाडौंमा सोमबार मुद्दा दायर गरेको छ । दुई व्यक्तिको सम्पत्ति मात्रै अर्बभन्दा धेरै भेटिएपछि प्रहरीले सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको जनाएको छ ।
कुलबहादुरले ७० करोड ६० लाख ५३ हजार ७३३ तथा अमितले २७ करोड ४५ लाख २९ हजार रुपियाँ बराबरको रकम कारोबार गरी सम्पत्ति शुद्धीकरण गरिएको भेटिएपछि मुद्दा दायर गरिएको व्यूरोका एसपी राजन लिम्बूले जानकारी दिएका छन् ।
उनीहरूमध्ये कुलबहादुर मानव बेचबिखनको कसूरमा डिल्लीबजार कारागारमा छन् । अमित फरार छन् ।
कुलबहादुर र अमितले २५० भन्दा धेरै व्यक्तिलाई गैरकानूनी बाटोबाट अमेरिका पठाएको प्रहरीले जनाएको छ । रुकुम पश्चिम र रुकुम पूर्वबाट मानव तस्करी गरेर गाउँ नै रिक्तो हुने गरेर तल्लो बाटो हुँदै अमेरिकामा ठूलो संख्यामा मानव तस्करी भएको छ ।
तल्लो बाटोबाट अबैध रुपमा अमेरिका जाने क्रममा धेरै नेपालीहरूले ज्यान गुमाएका छन् । कतिपय बीच बाटोमा हराएका छन् । कति व्यक्ति अंगभङ्ग भएर दुःख पाएका छन् । कसैको सम्पत्ति समाप्त भएर मानसिक रोगी भएर बसेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया