प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति डा.यादवबीच भेटवार्ता, निर्वाचनबारे कुराकानी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा.रामवरण यादवबीच भेटवार्ता भएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्की र डा.यादवबीच भेटवार्ता भएको हो । भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिएका छन् ।

सरकारले आगामी फागुन २१ को निर्वाचनको वातावरण बनाउन विभिन्न पक्षहरूसँग संवाद तीव्र रूपमा अघि बढाएको छ ।

प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताएकी छिन् ।

पूर्वराष्ट्रपति डा.यादवले सबै राजनीतिक दल चुनावमा जानैपर्ने र चुनावबाट कोही पनि भाग्न नहुने बताएका छन् । डा.यादवले सरकारका तर्फबाट चुनावका लागि भइरहेको तयारी र विभिन्न पक्षसँग गरिएको संवादको सह्राहना गरेका छन् ।

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति डा.यादवबीच भएको भेटमा अर्थमन्त्री रामेश्वर खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल लगायतको उपस्थिति रहेको थियो ।

यसअघि, मंगलबार मात्रै गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा.यादवको ललितपुरस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए ।

Published : Wednesday, 2025 November 5, 8:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया