कांग्रेस केन्द्रीय सदस्यहरूबाट महामन्त्री थापाको प्रस्तावको आलोचना
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापाको महाधिवेशनसम्बन्धी प्रस्ताव पार्टीलाई चुनावभन्दा टाढा राख्ने खालको रहेको भन्दै विरोध गरेका छन् ।
बुधबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले कांग्रेसले चुनावपछि महाधिवेशनमा जानुपर्ने सुझाव दिए । उनीहरूले महाधिवेशन र निर्वाचनमध्ये कांग्रेसले पहिलो प्राथमिकता निर्वाचनलाई दिनुपर्ने बताएका छन् ।
महामन्त्री थापाले फागुन २१ गतेको मध्यावधि निर्वाचनको समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने दिनलाई बिथोल्ने गरेर १५औँ महाधिवेशनको कार्य तालिका ल्याएको भन्दै केन्द्रीय सदस्यहरूले आश्चर्य व्यक्त गरेका छन् ।
नेताहरूले सह–महामन्त्री महेन्द्र यादवबाट पेश भएको महाधिवेशनसम्बन्धी कार्यतालिका धेरै राम्रो रहेको भन्दै प्रशंसा गरेका छन् । सह–महामन्त्री यादवले दुरदर्शी विषयलाई ध्यान दिएर वैशाखमा पार्टीको महाधिवेशन र त्योभन्दा अगाडि मध्यावधि निर्वाचनमा कांग्रेसलाई विजयी बनाउने गरी कार्यतालिका ल्याएको भन्दै केन्द्रीय सदस्यहरूले समर्थन गरेका हुन् ।
बैठकमा सह–महामन्त्री फरमूल्लाह मन्सुर, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, कृष्णकिशोर घिमिरे, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मदनबहादुर अमात्य, चन्द्रबहादुर के.सी., अब्दुल सत्तार, उदयशम्शेर राणा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, जावेदा खातुन जागा, प्रा.डा. गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी, माया राई, सुशीला ढकाल आचार्य, गंगा शाही र सीतादेवी देवकोटाले आ–आफ्नो धारणा व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहीबार कार्तिक २० गते बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा पुनः बस्नेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया