सिंहदरबार बचाउन नसकेको भनेर सेनाको आलोचना भइरहेका बेला २४ वर्षीय युवकद्वारा जंगी अड्डामा तोडफोड

काठमाडौं । नेपाली सेनाको मुख्यालय, भद्रकालीमा २४ वर्षीय राहुल बोगटी प्रवेश गरेर तोडफोड गरेका छन् ।

बोगटी असोज १८ गते राति ११ बजेतिर भद्रकालीमा रहेको जंगी अड्डा प्रवेश गरी तोडफोड गरेर असोज १९ गते (भोलिपल्ट) पौने १२ बजे बाहिर निस्किएको खुलेको छ । बोगतीको स्थायी घर सिन्धुली जिल्लामा पर्छ । उनी काठमाडौंको न्यूरोडमा ज्याला, मजदुरी गरेर बस्दै आएका छन् ।

जंगी अड्डा परिसरमा रहेको तारबार नाघेर त्रिभुवन आर्मी अफिसर क्लब सभामण्डप भवनभित्र रहेको ड्राइ सौनामा छिरेर बोगटीले तोडफोड गरेका थिए । तोडफोडबाट ३७ हजार २०० रुपियाँ बराबरको क्षति भएको जंगी अड्डाले जिल्ला प्रहरी परिसर, काठमाडौंमा दिएको जाहेरीमा उल्लेख गरेको छ ।

तोडफोड गरेपछि बोगटी त्यसराति महिला शौचालयमा लुकेर बसेका थिए । भोलिपल्ट ११ः५० बजेमात्रै क्लबको गेटबाट बाहिर निस्किन खोज्दा बारबाट हामफालेपछि मात्रै सेनाले थाहा पाएको थियो । सेना र प्रहरीले मिलेर बोगटीलाई संकटा मन्दिरबाट खोजेर पक्राउ गरेको थियो ।

प्रहरीले आपराधिक उपद्रव कसूरमा बोगटीविरुद्ध कात्तिक १२ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

आफ्नो होस गुमेपछि जंगी अड्डा प्रवेश गरेको बोगटीले प्रहरीसमक्ष बयान दिएका छन् । उनले आफू एक्कासि न्यूरोडबाट पैदल हिँड्दै आउँदा राति ११ बजे शहीदगेट पुगेपछि होस नै गुमाएको बयान प्रहरी समक्ष दिएका छन् । होसमा नभएको हुँदा आफूले कहाँ के गरे र कहाँ सुतेको थाहा नभएको बयान उनले दिएका छन् । होसमा आउँदा सेना र प्रहरीको टोलीले पक्राउ गरेको बोगटीले बयानमा भनेका छन् ।

भद्रकालीमा रहेको नेपाली सेनाको हेडक्वाटर सबैभन्दा सुरक्षित ठाउँ मानिन्छ । सेना आफूले सुरक्षा दिएर राखेको जंगी अड्डामा सर्वसाधारण मानिस रातिमा प्रवेश गरेर अर्को दिनसम्म बस्दा समेत थाहा नपाएको विषय निकै चर्चाको विषय बनेको छ ।

भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा सिंहदरबार र सर्वोच्च अदालत बचाउन नसकेको भनेर नेपाली सेनाको आलोचना भइरहेका बेला २४ वर्षीय युवक सेनाको हेडक्वाटरभित्र प्रवेश गरेर तोडफोड गरेर सुरक्षित रुपमा भागेको रहस्य बाहिर आएको छ ।

Published : Sunday, 2025 November 2, 7:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया