कांग्रेस महाधिवेशनबारे पदाधिकारी सहमति नजिक, केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन अगाडि गर्ने कि पछाडि भन्ने बारेमा सर्वसम्मत निर्णय हुने भएको छ ।

शनिबार पार्टी कार्यालय, सानेपा, ललितपुरमा बसेको पदाधिकारीहरूको बैठकमा १५औँ महाधिवेशनका विषयमा सहमति नजिक पुगिएको प्रवक्ता डा.प्रकाशशरण महतले बताएका छन् । उनले भने, ‘महाधिवेशन कहिले गर्नेबारे केन्द्रीय कार्यसमितिमा छलफल चलाइरहेका छौँ । सर्वसम्म निर्णयमा कसरी पुग्ने ? भन्नेमा हाम्रो सम्पूर्ण छलफल केन्द्रित थियो । धेरै नजिक आएको अनुभम मैले गरेको छु । सहमतिबाटै केन्द्रीय समितिले टुङ्ग्याउँछ ।’

पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा.महतले भने, ‘समान दृष्टिकोण बन्छ । त्यहीअनुसार हामी निष्कर्षमा पुग्छौँ । १५औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा आम निर्वाचन अगाडि गर्दा राम्रो हुन्छ की ? आम निर्वाचन पछि राम्रो हुन्छ भन्ने विषयमा मतान्तर हो ।’

‘धेरै हिसाबले हामी नजिक आएको मैले अनुभव गरेको छु । एउटा समान निष्कर्षमा हामी छौँ भन्ने मलाई लाग्छ,’ प्रवक्ता डा.महतले बताए ।

फागुन २१ गते मध्यावधि निर्वाचन भएका कारण कांग्रेसले पहिला निर्वाचन केन्द्रित काम गर्नुपर्ने संस्थापन पक्षको भनाइ छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले निर्वाचन अगाडि महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।

निर्वाचन अगाडि महाधिवेशन गर्न समय अभाव हुने र चुनावको तयारी समेत नपुग्ने नेताहरूले बताउँदै आएका छन् । चुनाव अगाडि महाधिवेशन हुँदा अन्तरघात बढेर कांग्रेस पराजित हुने नेताहरूले बताउने गरेका छन् ।

संस्थापन पक्षले निर्वाचनपछि आगामी वैशाखतिर महाधिवेशन गर्न उपयुक्त हुने अडानमा छ । महामन्त्रीद्वय थापा र शर्माको समूह निर्वाचनअघि नै विशेष या नियमित महाधिवेशन गरेर नेतृत्व कब्जाको रणनीतिमा छ ।

Published : Saturday, 2025 November 1, 5:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया