कांग्रेसको महाधिवेशन रोक्न थालियो भन्दै बुख्याँचा खडा गरेर हावामा तरवार चलाए : कुन्दन काफ्ले
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जनतामा विश्वास जगाउने गरी महाधिवेशन गर्न पार्टी नेतृत्वसँग आग्रह गरेका छन् ।
शनिबार नेता काफ्लेले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कांग्रेसको महाधिवेशन कसैले रोक्दैन, रोक्न सक्दैन, यो समयमै भएरै छाड्छ । महाधिवेशन रोक्न थालियो भन्दै बुख्याँचा खडा गरेर हावामा तरवार चलाउने कम्युनिस्ट शैली कांग्रेसमा राम्रैसँग भित्रिएको देखियो । हुन त यो कम्युनिस्टसँगको लामो उठबसको प्रभाव पनि होला ।’
‘कांग्रेसको केन्द्रीय कार्यालय जलेको छ, जिल्ला तहका कार्यालय पनि तोडफोड भएका छन्, जलेका छन् । सभापतिमाथि कुटपिट भएको छ,’ उनले भने, ‘लोकप्रिय भनिएका महामन्त्रीहरूका घर पनि जलेका छन् । सयौँ कांग्रेसीका घरहरू लुटिए, तोडफोड भए, आगजनी भए । यो त सत्य हो ?’
‘नेपाली कांग्रेस थुप्रै प्रश्नबाट पक्कै घेरिएको छ । पार्टीका पदाधिकारीबीचको स्वार्थ, तानातान र नेतृत्वको होडबाजीसँग जनताले पार्टीमाथि गरेका प्रश्न जोडिएका छैनन् । हालको नेतृत्वमा रहेका सबै पदाधिकारी सत्ताको भागबण्डामा सामेल थिए, सरकार सञ्चालनको संयन्त्रमा बसेर राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्व राख्ने नीतिगत निर्णयमा मज्जाले सहभागी थिए,’ उनले भने ।
‘आफ्नो स्वार्थ अनुरूपको भाग खाएका पनि थिए । यो त आरोप होइन नि ? जो चोर उसैको ठूलो स्वर भनेर हामीलाई कसैले भनिदियो भने के होला हालत ?’ नेता काफ्लेले भने ।
उनले भने, ‘हामीले नै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा तय गरेका हौं, संघर्ष पनि गरेका हौं र जनतासामु लोककल्याणको बाचा पनि गरेका हौं । त्यो बखत अब आइन्दा कहिल्यै राजनीतिक आन्दोलन गर्नुपर्दैन भनेर जनतालाई आश्वस्त पनि पारेका हौं । त्यसो भन्ने युवाहरू आज पार्टी नेतृत्वमा नै छौं ।’
‘जनताले निर्वाचित पनि गरेका हुन् । सरकार सञ्चालनमा पनि हाम्रो सहभागिता थियो । तर, हामीले जनता माझ गरेका बाचाप्रति इमान्दार नदेखिएर नै प्रश्नहरू उठेका हुन् । यसको सामना सिङ्गो पार्टीले गर्नु नै पर्दछ । जनताका प्रश्नलाई नजरअन्दाज गरेर, त्यसलाई ढाकछोप गरेर कसैले पानी माथिको ओभानो बन्न खोज्नु अर्को भयङ्कर ठगी हो । त्यसैले यथार्थको विश्लेषण नगरी आत्म समीक्षा बिना अघि बढ्ने कोशिश नगरौं,’ काफ्लेले भने ।
उनले भने, ‘हाम्रो नेतृत्वमा जारी गरिएको संविधानमा हामीले जनताका ३१ प्रकारका आधारभूत हक प्रबन्ध गरेका छौं । तिनलाई हामीले कागजको खोस्टोमा लेखेर रद्दीको टोकरीमा फालेको सम्झेका त छैनौं ? त्यही संविधान लेखनका लागि त्यत्रो संघर्ष भयो । हजारौंको ज्यान गयो, मानिस अङ्गभङ्ग भए । हामी चाहिँ सत्ताको होडमा आपसमा खोसाखोस गरेर बस्न सुहाउँछ ? कहाँ पुग्यो लोकतान्त्रिक समाजवादको यात्रा ? शिक्षा र स्वास्थ्यमा भएको व्यापार र त्यसैमा साझेदारी गरेर जनतालाई झुक्याउने काममा त केन्द्रकै नेतृत्व छ त । यो नेतृत्वमा रहेकाहरू जनताका मुद्दाबाट टाढा भएर यो अवस्था सृजना भएको हो भनेर दुनियाँले भन्दा नसुन्ने अनि म चाहिँ ठीक छु भन्दै हिँड्दा त लाज पनि लाजाउँदैन र महोदय ?’
‘आफूलाई केन्द्रमा राखेर होइन जनतालाई केन्द्रमा राखेर कुरा गरौं । पार्टी कार्यालयमा त वीपी, गणेशमान, सुवर्णशम्शेर, किशुनजी, गिरिजाबाबु, महेन्द्रनारायण निधि, सुशील कोइराला, शैलजा आचार्य, भीमबहादुर तामाङहरूका फोटा त पक्कै झुण्डिएका छन्, यसको मतलब तिनले देखाएको देश, जनता र लोकतन्त्रप्रतिको त्याग र समर्पणको बाटो चिनौं भन्ने हो,’ उनले भने, ‘जनता र तिनका हक बेवास्ता गरेर पार्टीको ईतिहाँस भजाएर खाने दिन गए । जनताले हाम्रो राजनीतिक इमान्दारिताको परीक्षा गरिरहेका छन् । यसमा समीक्षा गरौं न ।’
‘विचार, चरित्र, नीति, कार्यक्रम, इमान र नैतिकतामा प्रतिबद्ध भएर अधिवेशनमा जाऊँ, जनताबीचमा जाउँ, आम चुनावमा जाउँ । अधिवेशन आजै गरौं या भोलि नै, यो सहज विषय हो,’ उनले भने, ‘यसलाई जटिल बनाउनु पर्दैन । यसमा राजनीति गर्नुको मतलब हामी अझैपनि जनताको जीविका, सरोकार र लोककल्याणको मुद्दामा सिरियस छैनौं ।’
‘मफेरि पनि अपील गर्दछु, जनताका हकको कार्यान्वयनमा केन्द्रित बनौँ, आडम्बर, ढोङ र पाखण्डबाट माथि उठेर जनताप्रति इमान्दार बन्ने म्यासेज बोकेर मात्र अधिवेशनमा अहिल्यै जाउँ तर, सच्चिएर । आम चुनावमा जाउँ एकताबद्ध भएर,’ कांग्रेस नेता काफ्लेले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया