सहमति र सहकार्यका लागि कार्यबाहक सभापति खड्काले दुई दिनलाई बैठक रोके, उग्र बने गगन-विश्व

काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले मेलमिलाप, सहमति र सहकार्यका लागि दुई दिनलाई केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेका छन् ।

१५औँ महाधिवेशनको कार्यतालिका सहमति र सहकार्यमा ल्याउनका लागि गृहकार्य गर्नेभन्दै कार्यबाहक सभापति खड्काले केन्द्रीय कार्यसमितिको बैठक आइतबार दिउँसो १ बजेसम्म स्थगित गरेका हुन् । कांग्रेसको शुक्रबारको बैठकलाई आइतबारसम्मका लागि स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका विषयमा बबाल मच्चाउँदै केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठक बहिस्कार गर्ने धम्की दिएको स्रोतले जनाएको छ । यसअघि बिहीबारको बैठकलाई महामन्त्री थापाले बहिस्कार नै गरेका थिए ।

महामन्त्रीद्वय थापा र शर्माले कांग्रेसभित्र विभाजन हुने गरेर आक्रामक गतिविधि गर्न थालेपछि कार्यबाहक सभापति खड्काले सहमति, सहकार्यका लागि केन्द्रीय कार्यसमिति बैठक दुई दिनलाई स्थगित गरेका छन् ।

Published : Friday, 2025 October 31, 4:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया