परराष्ट्रमन्त्री डा.राणासँग विपिनकी आमा र बहिनीद्वारा भेट,रिहाइका लागि भइरहेको पहलप्रति धन्यवाद प्रकट

काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीकी आमा र बहिनीले परराष्ट्रमन्त्री डा.आरजु राणालाई भेटेर धन्यवाद दिँदै आगामी दिनमा रिहाइका लागि थप पहल गर्न आग्रह गरेका छन् ।

आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणासँग विपिनकी आमा र बहिनीले भेट गरेर परराष्ट्र मन्त्रालयले विपिनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गरेका हुन् । रिहाइको पहललाई आगामी दिनमा थप सक्रियताका साथ निरन्तरता दिन उनीहरूले डा.राणासँग आग्रह गरेका छन् ।

परराष्ट्रमन्त्री डा.राणाको पहल एवं नेपालस्थित इजरायली राजदूतावासको समन्वय तथा सहयोगमा विपिनकी आमा र बहिनी विपिनको अवस्था बुझ्न र रिहाइका लागि अपील गर्न हालै इजरायल गएका थिए । इजरायलबाट फर्केपछि उनीहरूले परराष्ट्रमन्त्री डा.राणासँग भेट गरेका छन् ।

उनीहरूले इजरायलमा रहँदा नेपाली राजदूत प्रा.डा.धनप्रसाद पण्डित र इजरायल सरकारका अधिकारीहरूले सहयोग गरेको बताए । इजरायलका राष्ट्रपतिदेखि उच्च सरकारी अधिकारीहरूसँग भेटेर विपिनको रिहाइका लागि अपील गर्न पाएको उनीहरूले बताएका छन् ।

परराष्ट्रमन्त्री डा.राणाले सरकारले विपिनको रिहाइमा सक्दो कूटनीतिक प्रयत्न गरिरहेको र आगामी दिनमा यसलाई थप सशक्त बनाउने बताएकी छिन् । डा.राणाले विपिन अपहरमा परेको करिब ९ महनिापछि आफू मन्त्रीमा नियुक्त भएको र त्यसलगत्तै आफूले सो मुद्धालाई प्राथमिकतामा राखेर काम सुरु गरेको बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘यो एकवर्षमा म उपस्थित भएका संयुक्त राष्ट्रसंघीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्चहरू, विभिन्न द्विपक्षीय तथा अन्तर्राष्ट्रिय बैठक तथा भेटवार्ताहरूमा विपिन रिहाइको आग्रह गरिरहेकै छु । हामीले कूटनीतिक माध्यमबाट गर्न सक्ने र मिल्नेजति पत्राचार एवं अन्य आवश्यक पहल जारी नै राखेका छौँ ।’

डा.राणाले आफूले इजरायल, इजिप्ट, इरान, कतार, संयुक्त अरब इमिरेट्स, टर्कीदेखि लिएर अन्य देशका विदेशमन्त्रीहरू, उच्च अधिकारीहरूसँगको भेट र अन्तर्राष्ट्रिय फोरमहरूमा विपिनको रिहाइका लागि सशक्त रुपमा माग राख्दै आएको बताएकी छिन् ।

सन् २०२३ अक्टोबरमा इजरायलबाट विपिन जोशी हमास समूहको अपहरणमा परेका थिए ।

Published : Sunday, 2025 August 24, 7:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया