भियतनामकी उपराष्ट्रपति सुआन र परराष्ट्रमन्त्री डा.राणाबीच भेटवार्ता, परिषद सदस्यमा सहयोग गर्ने

काठमाडौं । भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र परराष्ट्रमन्त्री डा.आरजु राणाबीच भेटवार्ता भएको छ ।

शनिबार नेपालको तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौं आएकी उपराष्ट्रपति सुआनसँग परराष्ट्रमन्त्री डा.राणाले भेटवार्ता गरेकी हुन् ।

नेपाल र भियतनाम सम्बन्धका विविध आयामका साथै द्विपक्षीय हित र आपसी चासोका विषयहरूमा कुराकानी भएको छ ।

परराष्ट्रमन्त्री डा.राणाले पछिल्लो समय तीव्र आर्थिक विकासका लागि भियतनामलाई बधाई दिँदै यो आर्थिक विकासबाट अन्य देशले पनि सिक्नसक्ने बताएकी छिन् ।

डा.राणले दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताबीचको सम्बन्ध विस्तारको एक सबल कडी रहेको बताएकी छिन् । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा धेरै भियतनामी नागरिकहरू आउने गरेको बताउँदै परराष्ट्रमन्त्री डा.राणाले सांस्कृतिक पर्यटन प्रवर्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने बताएकी छिन् ।

पछिल्ला वर्षहरूमा नेपाल र भियतनामका पर्यटकहरूको संख्या उल्लेखनीय रुपमा बृद्धि भएको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् । अवसरको उपयोग गर्दै दुवै देश पर्यटन क्षेत्रको प्रवर्धनमा सहकार्य गर्दै अघि बढ्नुपर्ने उनले बताइन् ।

परराष्ट्रमन्त्री डा.राणाले भियतनामबाट नेपालका भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा उडानको वातावरण निर्माणका लागि पनि आग्रह गरेकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले नेपाल अगामी सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले त्यसपछिको अवस्थामा आवश्यक सहयोगका लागि पनि भियतनामसँग आग्रह गरेकी छिन् ।

डा.राणाले नेपाल सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषदको सदस्य र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि आग्रह गरेकी छिन् । जवाफमा उपराष्ट्रपति सआनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

Published : Saturday, 2025 August 23, 5:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया