प्यूठानका शान्तबहादुरसहित ४ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौंको टोखा नगरपालिका–३ बस्ने प्यूठानको प्यूठान नगरपालिका वडा नं. ८ घर भएका ३९ वर्षीय शान्तबहादुर बि.क., काठमाडौं महानगरपालिका–३२ बस्ने काभ्रेको भुम्लु गाउँपालिका वडा नं. १ घर भएका २६ वर्षीय प्रल्हाद खत्री, काभ्रेको बनेपा नगरपालिका वडा नं. ८ बस्ने सिराहाको कर्जन्हा नगरपालिका वडा नं. ८ घर भएका ४४ वर्षीय महमद हातिम र काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. २ बस्ने खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ४ घर भएका ४६ वर्षीय तारा बस्नेत तामाङ रहेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउमध्ये शान्तबहादुरले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपियाँ, प्रल्हादले कतार पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपियाँ, महमदले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपियाँ र ताराले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख १७ हजार रूपियाँ लिई सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले शान्तबहादुरलाई काठमाडौं महानगरपालिका–२९, प्रल्हादलाई काठमाडौं महानगरपालिका–२६ र महमदलाई काभ्रेको बनेपा नगरपालिका–७ बाट बुधबार पक्राउ गरेको थियो । तारालाई बुढानिलकण्ठ नगरपालिका–२ बाट बिहीबार पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Friday, 2025 August 22, 4:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया