समितिबाट शिक्षा विधेयक बहुमतले पारित, सदनमा पेश हुने

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो । विधेयकमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले फरकमत राखेका छन् ।

विधेयक अब बस्ने संसद् बैठकमा पेस हुनेछ । विद्यालय शिक्षासम्बन्धी कानूनलाई एकीकृत र संशोधन गर्न बनेको विधेयक लामो समयसम्म उपसमिति र समितिमा छलफलपछि पारित भएको छ ।

माओवादी केन्द्रले विधेयकका सम्बन्धमा पाँच बुँदे फरक समितिमा दर्ता गराएको छ । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल, महिन्द्रराय यादव, रेखा शर्मा र ज्ञानु बस्नेत सुवेदीले विद्यालय शिक्षा सुधारका लागि आफूहरूले उठाएका विषय विधेयकमा सम्बोधन हुन नसकेकाले फरक मत राखिएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीकी विना जयसवालले फरक मत राखेका छन् ।

Published : Thursday, 2025 August 21, 6:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया