अख्तियारले औकात र मर्यादा भुलेर समाचारको स्रोत मागेपछि पत्रकार महासंघद्वारा विरोध

काठमाडौं । नेपाल पत्रकार महासंघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक दैनिक पत्रिकामा प्रकाशित समाचारको स्रोत मागेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

‘महासंघ काठमाडौं शाखाका अनुसार यही साउन ११ गते सामान्य प्रशासनमन्त्री गुप्ता लाखौंको घूस लिने काममा संलग्न भएको भन्दै अख्तियारमा उजुरी शीर्षकको समाचारसँग सम्बन्धित अडियो र यही साउन १८ गते प्रकाशित ७० लाख घूस काण्डमा मुछिएका मालपोत प्रमुख पौडेललाई मन्त्री अधिकारी र सचिवको संरक्षण भन्ने समाचारको स्रोत उपलब्ध गराउन आयोगले उक्त पत्रिकाको प्रकाशन संस्थालाई पत्राचार गरेको छ,’ महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासचिव दाहालले भने, ‘समाचारको स्रोतको संरक्षण गर्नु पत्रकारिताको सिद्धान्त, धर्म र संवैधानिक अधिकार हो । पत्रकार अचारसंहिताले पनि समाचार स्रोतको संरक्षणको व्यवस्था गरेको छ ।’

‘आयोगले समाचारको स्रोत माग्नु पत्रकारिताको सिद्धान्त, संविधान तथा अचारसंहिताको प्रावधान विपरित भएको बुझाइ छ,’ दाहालले भने ।

‘प्रकाशित समाचारप्रति असहमति भए विधि प्रक्रिया अनुसार कारबाही गर्ने बाटो हुँदाहुँदै आयोगले समाचारको स्रोत माग्नु प्रेस स्वतन्त्रता विपरित कार्य हुन जाने भएकाले तत्काल पत्र फिर्ता लिइ विधिमा फर्कन महासंघ सम्वद्ध पक्षसँग जोडदार माग गर्दछ,’ महासचिव दाहालले भनेका छन् ।

सञ्चारमाध्यमले प्रकाशित गरेका समाचारका स्रोतहरू गोप्य राख्नुपर्ने प्रावधान छ । स्वतन्त्र प्रेसको अधिकारलाई कुठित गरेर सरकारी निकायबाट बेलाबेला पत्रकारहरूलाई दुःख दिने गरेर पत्र पठाउने, मानसिक दवाव दिने लगायतका हर्कत हुँदै आएका बेला पत्रकार महासंघले अख्तियारलाई आफ्नो औकातमा बस्न सचेत गराएको छ ।

Published : Tuesday, 2025 August 19, 8:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया