कांग्रेस नेता बासुदेवशरणको निधन, सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले बासुदेवशरण कोइरालाको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको छ ।

मंगलबार शोक वक्तव्य जारी गरेर कांग्रेस कोइरालाको ९३ वर्षको उमेरमा निधन भएको जनाएको छ । काभ्रेको खोपासीमा जन्मिएका कोइराला २०१२ सालदेखि नेपाली कांग्रेसको नीति, कार्यक्रममा समर्पित रहेका थिए ।

२०१५ सालको निर्वाचन, सुवर्णशम्शेर जबराको नेतृत्वको २०१८ को तथा वीपी कोइरालाको आह्वानको २०३०–३२ को सशस्त्र संघर्ष एवं २०४२ को सत्याग्रहमा सक्रिय सहभागी रहेका थिए ।

कोइरालाले लामो समय यातनापूर्ण काराबास र ४ वर्ष निर्वासित जीवन बिताएको कांग्रेसले जनाएको छ । उनी नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापतिका साथै पटक–पटक महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहेका थिए ।

२०७१ मा नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाको कोइराला उपाध्यक्ष भएका थिए । किसान आन्दोलनहरूको नेतृत्व गर्नुका साथै कोइराला पार्टीको भ्रातृ संस्था नेपाल किसान संघको केन्द्रीय अध्यक्ष समेत रहेका थिए ।

शैक्षिक क्षेत्रको उन्नयनमा उनको उल्लेख्य योगदान रहेको छ । उनले काठमाडौं र सर्लाहीमा नवजीवन विद्याश्रम नामक स्तरीय विद्यालय स्थापना र संचालन गरी निःशुल्क पठन–पाठनको ब्यवस्था गर्ने कार्यमा विशिष्ट भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

सर्लाहीको जुटपानी (नवलपुर)स्थित आफ्नै निवासस्थानमा बृद्धाश्रम स्थापना गरी बृद्ध–बृद्धाहरूको सेवामा समर्पित रहेका थिए । उनले आफ्नो पार्थिव शरीर पनि वीपी कोइरालाको नाममा स्थापित धरानको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान अनुसन्धान गर्ने विद्यार्थीको सहयोगार्थ दान दिएका छन् ।

उनकी श्रीमती मन्जु कोइराला, छोरीहरू मीनु र रेबिका (रश्मि) र छोरा नीरज छन् ।

‘नेपाली समाजका एक आदर्श पुरूष, नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, प्रजातन्त्र सेनानी कोइरालाको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको छ,’ कांग्रेसले भनेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले कोइरालाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । ‘नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका पूर्व उपाध्यक्ष, नेपाल किसान संघका पूर्व अध्यक्ष, नेपाली कांग्रेस सर्लाहीका पूर्व जिल्ला सभापति एवं नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, प्रजातन्त्र सेनानी वासु (वासुदेव शरण) कोइरालाको निधनको खबरले मलाई अत्यन्त दुःखीत र स्तब्ध बनाएको छ,’ देउवाले भने ।

‘पार्टी र भ्रातृ संस्थाको विभिन्न पदीय जिम्मेवारीमा रहेर स्वर्गीय कोइरालाले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ,’ देउवाले भने ।

‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ सभापति देउवाले भने ।

Published : Tuesday, 2025 August 19, 10:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया