विपिनलाई रिहा गराउन म र परराष्ट्र मन्त्रालयले पहिल गरिरहेको छ : डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको शीघ्र रिहाइको पहलमा परराष्ट्र मन्त्रालयले कुनै कसर बाँकी नराखी काम गरिरहेको बताएकी छिन् ।

सोमबार डा.राणाले सामाजिक सञ्जालमार्फत हमासको अपहरण र बन्दी जीवन विताइरहेका रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्नु नेपाल सरकारको दायित्व रहेको बताइन् ।

उनले हाल परराष्ट्र मन्त्रालयको परामर्शमा र इजरायल सरकारको सहयोगमा विपिन जोशीकी आमा र बहिनी इजरायल भ्रमणमा रहेको बताइन् । ‘उहाँले हिजो इजरायली महामहिम राष्ट्रपतिसँग भेटगरी विपिनको रिहाइको अपील पनि गर्नुभएको छ,’ डा.राणाले भनेकी छिन् ।

‘म परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि यो मुद्धालाई प्राथमिकतामा राखेर काम सुरु गरेकी हुँ,’ डा.राणाले भनिन्, ‘यो एकवर्ष म उपस्थित भएका संयुक्त राष्ट्रसंघीय महासभादेखि लिएर अन्तर्राष्ट्रिय मञ्चहरू, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्ताहरू एवं मसँगको शिष्टाचार भेटका क्रममा विभिन्न देशका राजदूतहरूसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरिरहेकी छु ।’

‘गत असोजमा राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका बेला त्यहाँ उपस्थित विश्वका नेताहरूसँग पनि यो अपिल गरेकी थिएँ,’ डा.राणाले भनिन् ।

‘त्यस अवसरमा जि७७ प्लस, जि२०, एलडिसी राष्ट्रहरूको मञ्चका बैठकहरुलाई सम्बोधन गर्दा पनि मैले विपिनको रिहाइका लागि विश्व समुदायसँग अपील गरेँ । उहाँहरूले पहल गर्छौँ पनि भन्नुभएको थियो,’ डा.राणाले भनिन् ।

‘दोहामा आयोजित एसिडी सम्मेलनमा र त्यसपछिका साइडलाइन भेटहरुका साथै इरानका विदेशमन्त्री लगायत सबैसँग मैले सो आग्रह गरेँ,’ परराष्ट्रमन्त्री डा.राणाले भनिन् ।

‘इजरायल र हमासबीच युद्धविराम भएपछि पनि त्यसमा काम गरेका देशका विदेशमन्त्रीहरूसँग नेपालमा रहेका राजदूतहरूसँग निरन्तर कुराकानी गरेँ,’ डा.राणाले भनिन्, ‘युद्धविराम भएपछि गत माघ १ गते कतारका विदेश राज्यमन्त्री डा.मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनमार्फत् विशेष आग्रह गरेकी थिएँ ।’ खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् ।

‘सोही दिन नै साँझ इजरायली विदेशमन्त्री गिडियन सारसँग र माघ ७ गते इजिप्टका विदेशमन्त्री डा.बदर अब्देल–अतिसँग फोनमार्फत् विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी थिएँ,’ डा.राणाले भनिन् ।

‘म आफ्नो शल्यक्रियाका लागि गत फागुनमा बैंककमा रहेका बेला समेत त्यहीँबाट इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता गरेकी थिएँ,’ डा.राणाले भनिन्, ‘विपिनको सुरक्षित र शीघ्र रिहाइलाई सुनिश्चित गर्ने प्रयोजनका लागि मध्यपूर्वी देशका नेपाली दूतावास मार्फत निरन्तर संवाद गरिरहेकी छु र उहाँहरूलाई यस विषयमा गम्भीर भई आफ्नो मिसनबाट हुनसक्ने पहलहरूको खोजी गरी काम गर्न निर्देशन पनि दिएकी छु ।’

‘गत चैतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक रिकी गिलसँग समेत नयाँ दिल्लीमा भेट गरी विपिनको रिहाइमा अमेरिकाको सहयोग मागेकी थिएँ,’ परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।

‘त्यस बखत राइसिना डायलगमा सहभागी हुन आएका विभिन्न देशका नेता र मन्त्रीसँग पनि अनुरोध गरेकी थिएँ,’ डा.राणाले भनेकी छिन् ।

‘मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग पनि गत फागुनमा प्रधानमन्त्री केपी ओलीले फोनमार्फत् ध्यानाकर्षण गराउनुभएको थियो,’ डा.राणाले भनिन् ।

‘नेपाल सरकारले यो मुद्धालाई प्राथमिकतामा राखेर हरसम्भवका प्रयासमा जुटिरहेको छ । सरकार उहाँहरूको परिवारको साथमा छ र उहाँहरू पनि हाम्रा कूटनीतिक प्रयासहरूका बारेमाा पनि जानकार नै हुनुहुन्छ,’ परराष्ट्रमन्त्री डा.राणाले भनिन् ।

Published : Monday, 2025 August 18, 6:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया