सहकारी ठगीमा रवि जेलमा रहेका बेला अर्का सहकारी ठगका अभियुक्त पक्राउ
तानसेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका बेला पाल्पामा सहकारीको रकम हिनामिना गरेको आरोपमा विष्णुबहादुर बम्रेल पक्राउ परेका छन् ।
रम्भा गाउँपालिका–४ हुमिन रहेको लालीगुँरास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोमपमा व्यवस्थापक बम्रेल पक्राउ परेका हुन् । बम्रेललाई साउन २६ गते आफ्नै हुमिन घरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।
सहकारी संस्थाको करिब दुई करोड ८७ लाख ५७ हजार ठगी आरोपमा व्यवस्थापक बम्रेललाई पक्राउ गरिएको प्रहरी प्रमुख भट्टराईले बताए ।
सहकारी संस्थामा फर्जी कर्जादाता तयार गरी रकम अपचलन गरेको आरोपसहित सहकारी संस्थाका अध्यक्ष सुवी विकले दिएको उजुरीका आधारमा बम्रेललाई पक्राउ गरिएको हो ।
२०८१ माघमा अध्यक्षमा निर्वाचित भएकी विकले रकम लगानीका विषयमा सोधपुध गरेपछि मात्र सहकारीका सञ्चालक समितिलाई थाहै नदिई रकम अपचलन गरेको थाहा पाएको बताइन् ।
सहकारी संस्थामा रम्भा, पूर्वखोला, बगनासकाली र माथागढी गाउँपालिकाका नागरिकहरुले बचत तथा ऋणको कारोबार गर्दै आएका छन् ।
सहकारी संस्थामा झण्डै एक हजार सेयर सदस्य रहेका छन् । पक्राउ परेका बम्रेल २०६४ सालदेखि सहकारी संस्थाको संस्थापक अध्यक्ष र पछि कार्यकारी व्यवस्थापक भएका थिए ।
पक्राउ गरी पहिलो पटक ७ दिनका लागि जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया