कुवेतमा मदिरा सेवनबाट केही नेपालीहरूको मृत्यु, ३५ जना अस्पताल भर्ना
काठमाडौं । नेपाली राजदूतावास, कुवेतले केही दिन अगाडि कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण भएको भनिएको घटनामा केही नेपालीहरूको मृत्यु र ३५ जना नेपाली नागरिकहरू अस्पताल भर्ना भएको जनाएको छ ।
कुवेतका लागि नेपाली राजदूतावासले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर भनेको छ, ‘कुवेतमा केही दिन पहिले विषादीयुक्त मदिरा सेवनका कारण भएको भनिएको दुःखद् घटनामा करिव ३५ जना नेपाली नागरिकहरू अस्पताल भर्ना भएको जानकारी प्राप्त भएको छ ।’
‘निजहरूमध्ये केहीको मृत्यु भएको जानकारी पनि राजदूतावामा प्राप्त भएको छभने केही गम्भीर अवस्थामा उपचार भैरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘केही बिरामीहरू विभिन्न अस्पतालमा सामान्य अवस्थामा उपचाररत रहेका छन् ।’
‘यस विषयमा जानकारी प्राप्त हुनासाथ दूतावासबाट राजदूत लगायत अन्य कर्मचारीहरूले तुरुन्त विभिन्न अस्पताल भ्रमण गरी नेपाली बिरामीहरूको अवस्थाका बारेमा जानकारी लिएको थियो,’ दूतावासले भनेको छ ।
‘यस सम्बन्धमा दूतावास सम्बन्धित अस्पताल र कुवेतको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रही अस्पतालमा उपचाररत बिरामीहरूको उचित उपचारका लागि निरन्तर समन्वय गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘यस दुःखद् घटनाका मृतकहरूप्रति दूतावास हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदनामा प्रकट गर्दछ,’ दूतावासले भनेको छ, ‘उपचाररत बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’
‘स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थको सेवनबाट टाढा रहनु हुन समेत राजदूतावास विशेष अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा कुनै जानकारी लिनु परेमा दूतावासको ह्वाट्सएप नम्बर ९६५६१००८९५६ मा सम्पर्क गर्न सकिने व्यहोरा समेत सबैको जानकारीका लागि अनुरोध छ ।’

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया