प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेश प्रहरी कार्यालय भवनको उद्घाटन

जनकपुर । प्रधानमन्त्री केपी ओलीले मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको नवनिर्मित प्रशासनिक कार्यालय भवनको उद्घाटन गरेका छन् ।

शुक्रबार जनकपुरमा आयोजित कार्यक्रममा ओलीले नवनिर्मित भवनको अवलोकन गरेका छन् । प्रधानमन्त्री ओलीले भवन निर्माण कार्यमा उल्लेखनीय योगदान पु¥याउनेहरूलाई प्रशंसापत्र प्रदान गरेका छन् ।

ओलीले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धानका साथै जनतालाई प्रारम्भिक सेवा तथा न्याय दिन प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताए । उनले नेपाल सरकारले लिएको उद्देश्य प्राप्तीका लागि सबै सरोकारवाला निकायहरूले नयाँ तरिका, नयाँ ढंग र संकल्पका साथ अगाडि बढ्नुपर्ने बताए ।

आफूलाई ठूलो दर्जाको व्यक्ति भन्दा पनि जनताको सेवक हुँ भन्ने भावनाका साथ काम गर्न ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा चुनौतिको रूपमा देखा परेका लागूऔषधको कारोबार, खुल्ला सीमानाको गलत फाइदा उठाउँदै हुने आपराधिक क्रियाकलाप एवम् अराजक गतिविधि नियन्त्रणमा अझ बढि क्रियाशील भई त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरेर कानूनी दायरामा ल्याउन निर्देशन दिए ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल प्रहरीले आपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रणमा निर्वाह गर्दै आइरहेको बताए ।

प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले धन्यवाद ज्ञापन व्यक्त गर्दै प्रचलित कानूनको अधिनमा रही शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धानका साथै प्रभावकारी सेवा प्रवाह गर्न नेपाल प्रहरी सदैव कटिबद्ध रहेको बताए ।

नवनिर्मित भवनले प्रहरी कर्मचारीहरूमा थप मनोबल र उत्प्रेरणा वृद्धि हुने बताउँदै थापाले सीमा अपराध, चोरी निकासी, लागूऔषधको कारोबार लगायतका अपराध नियन्त्रण तथा वस्तुनिष्ठ अनुसन्धानमा सबै सरोकारवाला पक्षहरूसँग सहकार्य गरी दत्तचित्त भएर कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

Published : Friday, 2025 August 15, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया