नेपाल-भारत सम्बन्ध ऐतिहासिक : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले नेपाल र भारतबीच ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्य रही आएको बताएकी छिन् ।

उनले आगामी दिनमा नेपाल र भारतकाे सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने बताइन् । शुक्रबार ललितपुरमा भारतको ७९औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूताबासद्वारा आयोजित कार्यक्रममा डा.राणाले भारत नेपालको एक असल छिमेकी राष्ट्रका रुपमा रहेको भन्दै दुई देशबीचको सदियौँ पुरानो सम्बन्ध रहेकाे बताइन् ।

भारतको आर्थिक विकासको असाधारण यात्राको प्रशंसा गर्दै परराष्ट्रमन्त्री डा.राणाले व्यापार, प्रविधि, पूर्वाधार र जनस्तरका आकांक्षाहरुमा दुई देशले संयुक्त सहकार्य विस्तार गरेर अघि बढ्ने पनि बताइन् । नेपाल-भारत सम्बन्ध केवल भौगोलिक सीमामा सीमित नरही हिमाल, नदी तथा प्राचीन सभ्यताको साझा ज्ञानले जोडिएको र दुइ देशबीचको साझा संस्कृति र जनस्तरको सम्बन्धले त्यसलाई अटुट बनाएको पनि उनले बताइन् ।

डा.राणाले जलवायु परिवर्तन, दिगो विकास र साझा चुनौतीहरूको समाधानमा दुई देशबीचको सहकार्य आगामी दिनहरूमा अझ आवश्यक रहेको बताइन् ।

यसअघि आजै परराष्ट्रमन्त्री डा.राणाले भारतीय विदेशमन्त्री डा.एस.जयशंकर मार्फत् भारत र भारतीय जनताप्रति स्वतन्त्रता दिवसको हार्दिक बधाई ज्ञापन गर्दै नेपालले भारतसँगको दीर्घकालीन र दिगो साझेदारीलाई उच्च सम्मानका साथ मूल्याङ्कन गरेको बताएकी थिइन् ।

Published : Friday, 2025 August 15, 6:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया