कांग्रेस सांसद खतिवडाद्वारा पहिरे खोलाको बेलिब्रिज जडान र सोखुमा पुल बनाउन आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुङ्गाको पहिरे खोलामा बेलिब्रिजको सामग्रीहरू आउँदा समेत समयमा जडान हुन नसकेको भन्दै चिन्ता जनाएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले केन्द्र सरकारबाट ओखलढुङ्गाको पहिरे खोलाका लागि बेलिब्रिजको सामग्रीहरू कोशी प्रदेशमा पठाइएको बताए । उनले भने, ‘संघबाट ओखलढुङ्गाको चर्चित पहिरे खोलामा बेलिब्रिज निर्माणका लागि बेलिब्रिज प्रदेशमा पठाइयो । तर, अहिलेसम्म बेलिब्रिज बनेन । छिटोभन्दा छिटो बेलिब्रिज राख्ने व्यवस्था होस् । जनताले हस्पिटल र विद्यालय जान नपाउने अवस्था सिर्जना भएको छ ।’
कांग्रेस सांसद खतिवडाले सोखु खोलाको पुल पनि निर्माणका लागि आग्रह गरेका छन् । ‘मध्य पहाडी राजमार्गको सोखु खोलामा पुल निर्माण नभएर समस्या भएको छ,’ खतिवडाले भने, ‘छिटोभन्दा छिटो सोखु खोला र भण्डारे खोलामा पुल निर्माण गर्ने व्यवस्था होस् ।’
सांसद खतिवडाले देशभरि रासायनिक मलको अभाव र बस्तुभाउमा देखिएको लम्कीस्किन रोगले समस्या उत्पन्न गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘देशभरि रासायनिक मलको हाहाकार छ । हामीले कृषिमन्त्री नियुक्ति गर्छौं कहिल्यै मलको समस्या नबुझ्नेखालका मन्त्रीहरू नियुक्ति गर्ने परम्पराको विकास भएको छ । जनता पीडित छन्,’ उनले भने ।
‘लम्कीस्किन रोगले त्यस्तै देशभरि सताएको छ । धेरै बस्तुभाउहरू मरिरहेका छन् । प्रत्येक जिल्लामा डाक्टर पठाएर औषधि उपचार गर्ने व्यवस्था होस् भनेर अनुरोध गर्न चाहन्छु,’ सांसद खतिवडाले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया