भारतीय रक्षामन्त्री सिंह र कांग्रेस नेता शाहबीच भेट, ठाकुरद्वारा ज्ञापनपत्र पेश

नयाँ दिल्ली । नेपाली कांग्रेसका नेता एवम् पूर्व सांसद अभिषेकप्रताप शाहले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेका छन् ।

बिहीबार नयाँदिल्लीस्थित सरकारी निवासमा कांग्रेस नेता शाहले रक्षामन्त्री सिंहसँग भेट गरेका हुन् । उनीहरूका बीच नेपाल र भारतबीचको आपसी हितका विषयमा कुराकानी भएको छ ।

यसैबीच, भेटमा सहभागी ‘घुमौ मधेस, बुझौँ मधेस’का संयोजक विकासकुमार ठाकुरले ज्ञापन पत्र समेत बुझाएका छन् । उनले मधेसका पर्यटकीय धार्मिक स्थानहरूको भारतमा प्रचार प्रसारका लागि आग्रह गरेका छन् ।

जनकपुरधामलाई समेटेर रामायण सर्किट बनाउने, जनकपुरधाम–अयोध्या धार्मिक पर्यटन करिडोर, जनकपुरधाम–अयोध्या सिधा हवाई उडान लगायतका माग भारतीय रक्षामन्त्री सिंहसँग संयोजक ठाकुरले राखेका छन् ।

संयोजक ठाकुरले भारतीय पक्षसँग मधेस प्रदेशका धार्मिक एवम् ऐतिहाँसिक पर्यटकीयस्थलको भारतसँग जोड्ने र प्रचार प्रसारका लागि आग्रह गरिएको बताए । जवाफमा भारतीय रक्षामन्त्री सिंहले नेपाल–भारतबीच सांस्कृतिक सम्बन्ध रहेको भन्दै त्यसलाई भारतीय पक्षबाट सहयोग हुने बताएका छन् ।

Published : Thursday, 2025 August 14, 3:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया