ज्ञानेन्द्रको निर्देशनमा हिंसा भएपछि कांग्रेसले संविधान पक्षधर दलहरूसँग परामर्श गर्ने

काठमाडौं । नेपाली कांग्रेसले संविधान पक्षरत दल र तिनका शीर्ष नेताहरूसँग पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूको हिंसाका विषयमा छलफल गर्ने निर्णय गरेको छ ।

शनिबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी, शीर्ष नेताहरू र पूर्वपदाधिकारीहरूको बैठकले संविधान पक्षधर दलहरूसँग छलफल गर्ने निर्णय भएको प्रवक्ता डा.प्रकाशशरण महतले बताए । कांग्रेसले आइतबार वा सोमबारसम्म दलका शीर्ष नेताहरूसँग छलफल तथा परामर्श गर्नेछ ।

डा.महतले भने, ‘सँगसँगै पार्टी सभापतिजीको, हाम्रो पार्टीको तर्फबाट संविधान पक्षरत दलहरूसँग, दलहरूका शीर्षस्थ नेताहरूसँग एउटा सर्वदलीय बैठक संविधान पक्षरत पक्षमा उभिएका दलहरूको एउटा बैठक बोलाउनु पर्छ निष्कर्ष निस्किएको छ ।’

‘त्यहि किसिमको प्रस्ताव पार्टीको तर्फबाट अन्य दलहरूसँग राख्ने कुराहरू पनि भएको छ । भोलि वा पर्सी नै बैठक हुन्छ’, डा.महतले भने ।

पूर्वराजा ज्ञानेन्द्र शाह र उनका मतियारहरूले तीनकुने क्षेत्रमा हिंसा गरेपछि कांग्रेस सभापति देउवाले पार्टीभित्र आन्तरिक परामर्श गरेका छन् ।

पदाधिकारी, शीर्ष नेता र पूर्वपदाधिकारीको सुझावमा ज्ञानेन्द्र शाहको निर्देशनमा उनका मतियारहरूले तीनकुने क्षेत्रमा हिंसा, हत्या, लुटपाट, कुटपिट, आगजनी, तोडफोड, निजी र सार्वजनिक सम्पत्तिमा क्षति गर्ने कार्य गरेपछि संविधान पक्षरत दलहरूका शीर्ष नेताहरूसँग आइतबार वा सोमबारभित्र छलफल गर्ने सहमति बनेको छ ।

Published : Saturday, 2025 March 29, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया