स्वच्छ छविका विवादित मन्त्रीलाई कारबाही गर्न आफ्नै पार्टीका सांसदद्वारा कांग्रेसमा उजुरी
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका विवादित महानिर्देशक प्रदीप अधिकारीसँग निकै हिमचिम रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले उजुरी दिएका छन् ।
मन्त्री पाण्डे कांग्रेसका सह–महामन्त्री पनि हुन् । सांसद बजगाईंले मन्त्री पाण्डेले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएका छन् । बजगाईंले कांग्रेसको केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका छन् ।
मन्त्री पाण्डेले दिएको अभिव्यक्ति पार्टी सिद्धान्तविपरीत मात्र नभई नेपालको संविधान र राष्ट्रिय हितविपरीत रहेको उजुरीमा उल्लेख छ ।
मन्त्री पाण्डेले एकदलीय चिनियाँ शासन प्रणालीका राष्ट्रपति सी जिनपिङको नैतिकतालाई नेपालको बहुदलीय लोकतान्त्रिक प्रणालीका नेताहरू र जनतासमक्ष लैजानुपर्ने धारणा व्यक्त गरेको भन्दै सांसद बजगाईंले आपत्ति जनाएका छन् ।
सांसद बजगाईंले भने, ‘नेपाली कांग्रेसको विधानले समाजवादउन्मुख बहुदलीय लोकतन्त्रलाई आत्मसात् गर्छ भने एकदलीय शासन व्यवस्थाको समर्थन कुनै हालतमा हुन सक्दैन । पार्टीका एक वरिष्ठ नेता एवं मन्त्रीबाट साम्यवादी एकदलीय प्रणालीको गुणगान गाउनु पार्टी विधानको गम्भीर उल्लंघन हो ।’
बजगाईंले भने, ‘यो अभिव्यक्ति पार्टीकै सहमहामन्त्रीबाट आएको हुनाले यसले पार्टीको नीति र विचारधारामा गम्भीर असर पार्ने सम्भावना छ ।’
मन्त्री पाण्डेले पदको दुरुपयोग गर्दै योजनाबद्ध रूपमा आफ्नाविरुद्ध सामाजिक संजालमार्फत अभियान सञ्चालन गरेको बजगाईंको आरोप छ । मन्त्री पाण्डेले नेपालको राष्ट्रिय हितलाई प्रत्यक्ष रूपमा कमजोर पार्ने निर्णय लिँदै आएको पनि बजगाईंको आरोप छ ।
सांसद बजगाईंले भने, ‘योजनाबद्ध ढंगले उनले नेपाली स्वामित्वको कम्पनीलाई विभाजित गरेका छन्, कानुनी प्रक्रिया उल्लंघन गर्दै जथाभावी क्यासिनो इजाजतपत्र वितरण गरेका छन् र अदालती फैसलालाई चुनौती दिने प्रयास गरेका छन् । जसले अदालतको अवहेलनासँगै कानुनी शासनमाथि प्रहार गर्दछ ।’
‘मिडिया प्रचारबाजीमा मात्र सीमित नरही, पाण्डे आन्तरिक रूपमा पनि सक्रिय छन् । उनले पार्टी नेतृत्वलाई प्रभावमा पार्दै अनुशासन समिति प्रयोग गरेर मलाई लक्षित कारबाही गराउने प्रयास गरिरहेका छन्’, कांग्रेस सांसद बजगाईंले भने, ‘मलाई दबाउने, आलोचनात्मक आवाजलाई थुन्ने र आफ्नै नियन्त्रण मजबुत बनाउने उनको यो रणनीति केवल एउटा व्यक्तिगत बदनाम गर्ने अभियान मात्र होइन, यो सत्ताको दुरुपयोग गर्दै भ्रष्टाचारको विरोध गर्नेहरूलाई दबाउने संगठित षड्यन्त्र हो ।’
बजगाईंले उजुरीमा भनेका छन्, ‘म नेपाली कांग्रेसको निष्ठावान सदस्यको नाताले आफ्नो पार्टीभित्र वैधानिक प्रश्न उठाउने अधिकार राख्दछु । पार्टीको नीति, सिद्धान्त, संविधान र नेपाली लोकतान्त्रिक मूल्यहरू विपरीत हुने अभिव्यक्तिहरूप्रति ध्यानाकर्षण गराउँदै, कांग्रेसका पदाधिकारी नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेद्वारा हालसालै सार्वजनिक रूपले व्यक्त गरिएको विचारप्रति गम्भीर आपत्ति जनाउँदै अनुशासनात्मक कारबाहीको माग गर्दछु ।’
पार्टी नीति र विचारविरुद्ध मन्त्री पाण्डेबाट अभिव्यक्ति आइरहेको हुँदा कारबाही हुनुपर्ने कांग्रेसका सांसद बजगाईंको माग छ ।
कांग्रेसका नेता एवम् सांसद शेखर कोइरालाको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका पाण्डे निकै विवादित बनेका छन् । मन्त्री पाण्डेलाई कारबाहीका लागि उजुरी दिने सांसद बजगाईं पनि नेता शेखर कोइराला निकटका हुन् ।
आफूलाई स्वच्छ छविको भन्न रुचाउने मन्त्री पाण्डेले निकै विवादित छविका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घोटालाका विषयमा बयान दिँदै आएका महानिर्देशक अधिकारीलाई च्यापेर बसेका छन् । महानिर्देशक अधिकारीले मन्त्री पाण्डेलाई बानेश्वरतिर घर किनिदिएको भनेर कांग्रेसभित्र व्यापक चर्चा छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया