गृहमन्त्रीविरुद्ध अनुसन्धान गर्न संसदीय समितिको माग, तनाबमा लेखक र आईजीपी
काठमाडौं । सर्लाहीका सत्यन्द्र राम र नेहा रौनियारको अन्तरजातीय विवाहमा राज्यशक्तिको चरम दुरुपयोग गरेर कानून विपरितको कार्य गरेको भन्दै गृहमन्त्री रमेश लेखकविरुद्ध अनुसन्धान गर्न संसदीय छानविन समितिको माग उठेको छ ।
गृहमन्त्री लेखकको आदेशमा प्रहरीले सत्यन्द्र र नेहालाई दुःख दिएको आरोप छ । लेखकले आफूलाई लागेको आरोप अस्वीकार गर्दै आएका छन् । लेखकमाथि अनुसन्धानको माग उठेको छ । संसदीय छानविन समिति गठन गरेर सत्यन्द्र र नेहाको अन्तरजातीय विवाह प्रकरणमा अनुसन्धान गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले आवाज उठाएपछि गृहमन्त्री लेखक तनाबमा परेका छन् । संसदीय छानविन समिति बन्यो भने गृहमन्त्री लेखक र आईजीपी बसन्तबहादुर कुँवरलाई सबैभन्दा ठूलो क्षति हुनेछ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसदले आइतबारको संसद बैठकमा गृहमन्त्री लेखकविरुद्ध अनुसन्धान गर्न संसदीय छानविन समितिको माग गरेका हुन् ।
माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले भने, ‘अन्तरजातीय विवाह गर्ने सर्लाहीका सत्येन्द्र राम र नेहा रौनियार अझै सुरक्षित छैनन् । कतिवेला अजित मिजारको हालत हुने हो थाहा छैन ।’
‘यो अत्याचारबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दछु’, बरालीले भने, ‘अन्तरजातीय विवाह गर्नेलाई ३० हजार धरौटी लिने जिल्ला न्यायाधीश, गैरकानूनी रूपमा विदेश गएर पक्रने एसपी रुगम कुँवर, निर्देशन गर्ने प्रहरी महानिरीक्षकलगायतलाई कारबाही गर्न नसक्ने गृहमन्त्रीलाई सडकबाट ‘राजीनामा दे’ भन्दा हुन्न भनेर हामीले कसरी भन्ने ?’
शुक्रबार बसेको संसद् बैठकमा पनि नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले गृहमन्त्री लेखक र अन्य संलग्नमाथि छानबिनको माग गरेका छन् ।
उनले भने, ‘सत्येन्द्र–नेहाको विवाहलाई सर्वोच्च अदालतले वैधता दिएको छ । सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्न चाहन्छु ।’
सांसद ज्वालाले भने, ‘नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भएको छ । तर, मुम्बईबाट पक्राउ गरी यातना दिन निर्देशन दिने गृहमन्त्री र अन्य संलग्न व्यक्तिमाथि छानबिन गरी कारबाही गर्नुपर्छ ।’
प्रहरीले पटक–पटक पक्राउ गरी यातना दिएको सत्येन्द्र र नेहा स्वयंले बताउँदै आएका छन् । गृहमन्त्री लेखकले दुई प्रहरीलाई भारतको मुम्बईसम्म पठाएर आफूहरूलाई पक्राउसँगै कुटपिट गरेको सत्यन्द्र र नेहाले बताउने गरेका छन् ।
नेहाका बुबासँग गृहमन्त्री लेखकले बैठक गरेको, प्रहरीले शैक्षिक प्रमाणपत्रदेखि गरगहनासम्म खोसेर अहिलेसम्म गायब पारेको पीडितहरूले बताएका छन् ।
गृहमन्त्री लेखककै निर्देशनमा मुम्बईसम्म प्रहरी पठाएर उनीहरूलाई पक्राउ गरिएको मानव अधिकार आयोगको प्रारम्भीक छानबिनमा पनि खुलिसकेको छ ।
गृहमन्त्री लेखक, प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर
कुँवर र अपराध अनुसन्धान कार्यालय टेकुका तत्कालीन एसएसपी सानुराम भट्टराईको निर्देशनमा सोही कार्यालयका तत्कालीन डीएसपी रुगम कुँवर (हाल एसपी) र सहायक हवल्दार इन्द्रमणि पोखरेल मुम्बई पुगेर सत्येन्द्र र नेहालाई पक्राउ गरेका थिए ।
सत्यन्द्र र नेहाले विवाह दर्ता गरिसकेका छन् । विवाह दर्ता भइसकेको अवस्थामा उनीहरूविरुद्ध मुद्दा दर्ता गरी पक्राउ गरिएको आरोप छ ।
नेहालाई पक्राउ गरी परिवारको जिम्मा लगाइएकोमा माघ २० गते सर्वाेच्च अदालतको आदेशपछि मात्र नेहाले सत्येन्द्रसँग बस्न पाएकी छिन् । राजीखुसीसाथ उमेर पुगेर उनीहरूले बिहे गरेको भन्दै सर्वाेच्चले नेहालाई सत्येन्द्रको जिम्मा लगाएको थियो । गृहमन्त्री लेखकले गुण्डाशैलीको रणनीति अपनाएपछि सत्यन्द्र र नेहा लुकेर बस्न बाध्य छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया