यो अनिर्वाय व्यवस्था नमाने सवारी साधनहरूलाई १ लाखसम्मको जरिवाना

काठमाडौं । कालो धुँवा फालेर प्रदूषण फैलाउन सवारी साधनलाई सरकारले हदैसम्मको कारबाही गर्ने भएको छ ।

सरकारले प्रदूषण जाँचपासमा फेल हुने सवारी साधनलाई १ लाख रुपियाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ ।

वायु प्रदूषण नियन्त्रणको उदेश्यले सरकारले मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीमाथि कारबाहीमा कडाई गर्न थालेको छ ।

वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले पुस १ गतेबाट विभागले छड्के जाँच गरी कारबाही गर्न लागेको बताएका छन् ।

मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीलाई १ लाखसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

सवारी मर्मत गरी प्रदूषण जाँचपास गराएर मात्र सञ्चालनमा ल्याउन पाइने व्यवस्था छ ।

प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले छड्के जाँच गर्नेछन् ।

पहिलो पटक पाँच हजार र पटक–पटक गरी एक लाखसम्म जरिवाना हुनेछ ।

वातावरणीय दृष्टिले युरो–६ अपरिहार्य छ । काठमाडौंलगायत सहरी क्षेत्रमा वायु प्रदूषणको मुख्य स्रोत नै सवारीसाधन त्यसमा पनि ठूला गाडी, डिजेलबाट चल्ने गाडी छन् ।

ठूला तथा सार्वजनिक सवारीले ६–६ महिनामा तथा साना तथा मझौला साधनले एक वर्षमा एकपटक सवारीको प्राविधिक जाँच गराउँदा प्रदूषण जाँच पनि गराउनुपर्छ ।

परीक्षण पास नभए रुट इजाजत निलम्बन, सवारी गुडाउन नपाउने, आवश्यक मर्मत–सम्भारपछि पुनः प्रदूषण चेकजाँचका लागि वातावरण विभागमा सम्पर्क गर्नुपर्ने व्यवस्था छ ।

पेट्रोल तथा ग्यासबाट चल्ने सवारीसाधनले फाल्ने धुवाँको मात्रा ग्यास एनालाइजरमार्फत नापिन्छ ।

सवारीसाधनमा धुवाँको मात्रा हजार पिपिएम र कार्बन–मनोअक्साइडको मात्रा तीन प्रतिशत हुनुपर्ने मापदण्ड छ ।

डिजेलबाट चल्ने सवारीसाधनले फाल्ने धुवाँ जाँच डिजेल स्मोक मिटरमार्फत गरिन्छ । यसमा धुवाँको मात्रा २.४४ एचएसयु हुनुपर्ने मापदण्ड छ ।

Published : Friday, 2022 December 16, 10:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया