दुर्घटनामा परेकी परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्थाको मृत्यु

काठमाडौं । मोटरसाईकल दुर्घटनामा घाइते भएकी परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता एवम् सह–सचिव सेवा लम्सालले शाखा अधिकृत सुब्बाको उपचारका क्रममा निधन भएको बताएकी छिन् । झापाको धुलाबारी स्थायी घर भएकी सुब्बाका श्रीमान र एक छोरा छन् ।

बिहीबार साँझ अधिकृत सुब्बालाई सिंहदरबारको पूर्वीगेटमा बाटो काट्न लाग्दा मोटरसाइकलले ठक्कर दिएको थियो । उनी कार्यालयबाट घर फर्किने बेला दुर्घटना भएको थियो ।

हनुमानस्थानबाट अनामनगरतर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पूर्वीगेट अगाडि सुब्बालाई ठक्कर दिएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी शाखा अधिकृत सुब्बालाई उपचारका लागि बागबजारस्थित काठमाडौं मोडल अस्पताल लगिएको थियो ।

२०६९ मा सेवा प्रवेश गरेकी सुब्बा मन्त्रालयको संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संघ संगठन तथा अन्तर्राष्ट्रिय महाशाखामा कार्यरत थिइन् ।

सुब्बालाई ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन् ।

Published : Saturday, 2022 November 5, 10:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया