एक सय ४६ प्रहरी निरीक्षक तयार भएर बाहिर निस्किए, गृहमन्त्री र आईजीपीद्धारा स्वागत
काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औं (पोष्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स १२औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
आइतबार महाराजगञ्जमा समारोहमा गृहमन्त्री बालकृष्ण खाणले तालिममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक कैलाश लिम्बुलाई स्व.कुलानन्द स्मृति पुरस्कार प्रदान गरेका छन् ।
उनले सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी निरीक्षक आदर्श गिरी, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक आषीश पोखरेल, अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारी, कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक अभय लामा, मस्केट्री तथा चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक पूर्णबहादुर केसी र शारीरिक व्यायाम र प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक सनम मल्ललाई पुरस्कार प्रदान गर्नुका साथै उत्कृष्ट प्रशिक्षकहरूलाई समेत पुरस्कार प्रदान गरेका छन् ।
गृहमन्त्री खाणले मुलुकमा शान्ति सुरक्षा स्थापना गर्ने, नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्ने, महिला बालबालिका, जेष्ठ नागरिकको पूर्ण सुरक्षा प्रत्याभूति गर्ने क्रममा तथा आम नागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन कानूनले निर्दिष्ट गरेका जिम्मेवारीलाई पूर्ण पालना गरी कानूनी राज्यको प्रत्याभूति दिन दीक्षित हुने प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् ।
कानूनले तोकेका जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रहरीलाई आइपर्ने हर चुनौतिमा नेपाल सरकार र गृहमन्त्रालयको पूर्ण साथ रहने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् ।
गृहमन्त्री खाणले तालिमका दौरान प्रशिक्षार्थीले बगाएको पसिनाले भोलिका दिनमा फिल्डमा आउनसक्ने हर चुनौतिको सामना गर्न सफल र सक्ष्म हुने विश्वास व्यक्त गर्नुका साथै तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धान क्रममा आउने अवरोधहरूलाई परिणाममुखी बनाउन सफल हुने अपेक्षा रहेको उल्लेख गरेका छन् ।
कठिन र चुनौतिपूर्ण घडीमा राष्ट्रले सुम्पेका हर जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको बताउँदै खाणले दीक्षित हुने अधिकृतहरू हरेक जिम्मेवारी व्यावसायिकता पूर्वक निर्वाह गर्दै नागरिकलाई महसुस हुने गरी सेवा प्रदान गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।
गृहमन्त्री खाणले नेपाल प्रहरी जस्तो गतिशील संगठनमा तालिमको महत्वबारे नेपाल सरकार र गृह मन्त्रालय पूर्ण जनाकार रहेको चर्चा गरेका छन् ।
नेपाल प्रहरीका तालिममा आवश्यकता अनुरूप बजेट विनियोजन हुँदै आएको तथा विकसित चुनौतिको सामना गर्न सक्ष्म जनशक्तिको विकास गर्न संगठनले थप नयाँ तालिमको महसुस गरेमा नेपाल सरकार र गृह मन्त्रालय सकारात्मक रहेको समेत खाणले उल्लेख गरेका छन् ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेतृत्व विकास प्रहरी निरीक्षक तालिमको अभिन्न अंग रहेको चर्चा गर्दै यस तालिमले दीक्षित हुने प्रशिक्षार्थीहरूको नेतृत्व क्षमतालाई अभिवृद्धि गरी कठिन समयमा उपयुक्त निर्णय लिने मात्र नभई आफू मातहतका दर्जालाई उत्प्रेरित गरी तोकिएको जिम्मेवारी सम्पन्न गर्ने क्षमता प्रदान गरेको विश्वास व्यक्त गरेका छन् ।
उनले भने, ‘हाम्रो समाज र आम नागरिकले प्रहरीबाट उच्च अपेक्षाहरू गरेको छ । प्रहरी महानिरीक्षक सिंहले विवेकसम्मत भई व्यावसायिकता अंगिकार गरेमा मात्र आम नागरिकका जायज तथा कानूनसम्मत अपेक्षा पूरा गर्न सकिनेछ ।’
व्यावसायिक उत्कृष्टता, निष्ठा र ईमानदारीको उच्चतमस्तर कायम गरी कार्यक्षेत्रमा आफूलाई प्रस्तुत गर्न दीक्षित हुने प्रशिक्षार्थीहरूलाई उनले निर्देशन दिएका छन् ।
कानूनले निर्दिष्ट गरेको गरेको परिधि भित्र रही अपराध अनुसन्धान र कानून कार्यान्वयनमा कठोरता अपनाउन एवम् गैरकानूनी तथा आपराधिक क्रियाकलापविरूद्ध थप निर्मम हुन समेत आईजीपी सिंहले निर्देशन दिएका छन् ।
सिंहले चेन अफ कमाण्ड नेपाल प्रहरीले अवलम्बन गर्दै आएको महत्वपूर्ण कार्यशैली रहेको बताउँदै यस कार्यशैलीको प्रवर्द्धन गरी अक्षुण्ण राख्नु सबैको कर्तव्य रहेको बताए ।
चेन अफ कमाण्ड बाहिर रहेर गरिने वृत्तिविकास र अवसरको परिकल्पना प्रति संगठन कठोर रहेको समेत उनले बताएका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारले नेपाल प्रहरीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले आफूलाई प्राप्त जिम्मेवारीलाई निष्पक्ष र त्रुटिरहित तवरले सम्पन्न गर्न उपस्थित प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन सह–प्रा.डा. हरिप्रसाद अधिकारीले पिजीडिपीएस कार्यक्रमले प्रहरी कर्मचारीहरूलाई अनुशासन र शिक्षा विकास गर्न प्रश्रय दिएको बताएका छन् ।
प्रहरी संगठनको आवश्यकता अनुसार पिजीडिपीएस कार्यक्रमलाई समयानुकुल परिमार्जन गर्दै लैजानु पर्ने उल्लेख गर्दै संगठनको सेवालाई थप चुस्त र दुरुस्तरूपमा कार्य सम्पादन गर्नका लागि प्रहरी कर्मचारीहरूमा प्रतिवद्धता, निरन्तरता र समन्वय आवश्यक रहेको चर्चा गर्नुभएको
समारोहमा उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै स्वागत मन्तव्य ब्यक्त गरेका छन् ।
थापाले तालिम सम्बन्धी जानकारी दिँदै २०७८ साउन १३ गतेबाट सुरु भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा १४ महिलासहित कुल १ सय ४६ जना प्रहरी निरीक्षकहरु सहभागी भएकोमा सबैजनाले सफलतापूर्बक तालिम हासिल गरेको बताए ।
प्रशिक्षार्थीहरुले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत बिद्यालयद्वारा सांगीतिक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दीक्षित प्रहरी निरीक्षकहरुलाई आ–आफ्ना अभिभावकहरुले दर्ज्यानी चिन्ह सुशोभन गरेका छन् ।
दीक्षान्त समारोहमा महान्यायधिवक्ता खम्मबहादुर खाती, गृहसचिव विनोदप्रकाश सिंहलगायतको उपस्थिति रहेको थियो ।










बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया