एसपी ज्ञवालीले बाग्लुङको कमाण्ड सम्हालेको दुई हप्ताभित्र चोरका ‘सरदार’ पक्राउ

बाग्लुङ । जिल्ला प्रहरी कार्यालय बाग्लुङले चोरहरूको ‘नाइके’लाई पक्राउ गरेको छ ।

बाग्लुङ नगरपालिका– ३ मुल्पानीका वर्ष १८ का कुनाल बोहराको निर्देशनमा दुई जना किशोरहरूलाई प्रयोग गरेर चोरी गराउँदै आएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय बाग्लुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आइतबार मध्यराति साढे १२ बजे बाग्लुङ नगरपालिकामा ध १ प २२२१ नम्बरको मोटरसाइकल डोराइ हिँडिरहेका बेला १६ वर्षीय दुई किशोरहरूलाई नियन्त्रणमा लिएर सोधपुछका क्रममा मोटरसाइकल चोरीको भएको खुलेको थियो ।

प्रहरीले पक्राउ गर्न खोज्दा ती दुई किशोरहरू भाग्न खोजेका थिए । उनीहरूसँग सोधपुछ गर्दा कुनाल बोहराको निर्देशनमा चोरी गर्ने गरेको प्रारम्भीक बयान दिएका थिए ।

त्यसपछि प्रहरीले कुनाल बोहरलाई सोमबार बाग्लुङ नगरपालिका– २ बालमन्दिर चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिए । कुनाल बोहराको समूहले ९/१० स्थानमा चोरी गरेको अनुसन्धानका क्रममा खुलेको ज्ञवालीले बताएका छन् ।

कुनाल बोहराको निर्देशनमा किशोरहरूले शिवधाराचोकमा सुजन बोहराले सञ्चालन गरेको मोबाइल पसलमा माघ २९ गते राति मोबाइलहरू चोरी गरेको अनुसन्धानमा खुलेको छ ।

चोरी गरिएको मोबाइल ती किशोरहरूले केही कुनाल बोहरालाई दिएको तथा केही मोबाइल सुदीप बोहराले सञ्चालन गरेको मोबाइल पसलमा मर्मतका लागि दिएको खुलेको छ । चोरी भएका सबै मोबाइल प्रहरीले कब्जामा लिएको छ ।

कुनाल बोहराको समूहले बाग्लुङ बजार, वडा एरियामा रहेका शिव स्टोर किराना पसल, लक्ष्मी होटेल, लालीगुराँस चोकमा पार्किङ गरी राखेको पिकअप भ्यानभित्र रहेका कस्मेटिक सामानहरू चोरी गरेको समेत अनुसन्धानका क्रममा खुलेको छ ।

पक्राउ परेका ती दुई किशोरहरू १८ वर्षमुनिका भएका कारण जिल्ला अदालतबाट म्याद थप गरेर बालनिग्रानी कक्षमा राखिएको एसपी ज्ञवालीले जानकारी दिएका छन् । उनले भने, ‘१६ वर्षका यी किशोरहरूलाई गलत बाटोमा हिँडाएको पाइयो । यो गम्भीर विषय हो । यस्ता कुरालाई प्रहरीले रोक्छ । नाबालकहरूलाई गलत बाटोमा लगाउनेलाई हदैसम्मको कारबाही हुन्छ ।’

उता, दुई वटा स्कुटी पनि चोरी भएको उजुरी प्राप्त हुनेवित्तिकै खोजतलासमा खटिएको प्रहरीले प्राप्त गरेर स्कुटी धनीलाई बुझाएको पनि छ ।

यसैक्रममा, बाग्लुङ प्रहरीले १२२ एम्पुल लागुऔषध, ३७ हजार नगदसहित चार जनालाई पक्राउ गरिएको छ ।

बागलुङ नगरपालिका–९ तित्याङ घरभई बागलुङ बजारको रामरेखास्थित कोठाबाट प्रहरीले फेनारगन १४, डाइजेपाम १४ र नुरफिन १३ गरी कुल ४१ एम्पुल लागुऔषधसहित रोशन थापालाई पक्राउ गरेको थियो ।

लुकाएर राखिएको अवस्थामा प्रहरीले फेनारगन २७, डाइजेपाम २७ र नुरफिन २७ गरी कुल ८१ एम्पुल लागुऔषधसहित बागलुङ नगरपालिका–४ का अभिनाश बोहोराले पक्राउ गरिएको छ ।

बागलुङ नगरपालिका–१ कालिका मन्दिर गेटमा स्वीकृतबिना लक्की सेभेन स्केल (डार्ट) खेल खेलाउन विभिन्न बोर्ड सङ्कलन गरिराखेको अवस्थामा प्रहरीले लामा र मनबहादुर हर्मेललाई रू.३७ हजारसहित पक्राउ गरेको छ । प्रहरीले यो खेललाई जुवा मान्दै आएको छ ।

अवैधरुपमा कालीगण्डकी नदीबाट नदीजन्य पदार्थको ढुवानी गर्ने एघार वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाहीका लागि बागलुङ नगरपालिकामा पठाइसकेको छ ।

एसी ज्ञवालीले बाग्लुङ प्रहरीको कमाण्ड सम्हालेको दुई हप्टा पुग्न लागेको छ । यो समयमा उनले चोरको ‘सरदार’ कुनाल बोहरालाई पक्राउ गर्नेदेखि गैरकानून कार्यहरूलाई रोक्न अभियान नै चलाएका छन् ।

Published : Monday, 2022 March 7, 10:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया