लापरबाही गर्ने ‘कामचोर’हरूलाई कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणलाई छानविन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा भएको लापरबाहीका विषयमा प्रतिवेदन बुझाएको छ ।

आइतबार गृह मन्त्रालयमा मन्त्री खाणलाई समितिका संयोजक अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले प्रतिवेदन बुझाएका हुन् ।

काठमाडौंबाट उड्न लागेको जहाजमा पासपोर्ट र भिसाविना एक व्यक्ति चढेपछि सो विषयमा छलफल गर्न समिति बनेको थियो ।

फागुन ९ गते राति जहाजको टिकट र भिसा नभएको व्यक्ति विमानस्थलभित्र छिरेर जहाजसम्म पुगेपछि सुरक्षाबारे गम्भीर प्रश्न उठेको थियो ।

गृहमन्त्री खाणले मन्त्रिस्तरीय निर्णयबाट फागुन १३ गते छानविन समिति गठन गरेका थिए ।

गृहमन्त्री खाणले रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको तालमेल हुन्छ’, उनले भने, ‘कार्यान्वयनका लागि पनि सबै निकायको तालमेल चाहिन्छ ।’

विमानस्थलभित्र नागरिक छिरेर जहाजमै पुग्नु संवेदनशील भएको भन्दै त्यो घटना कसरी भएको हो ? कसको कमजोरीले भएको हो ? पर्यटन र अर्थ मन्त्रालयसहितको सल्लाहमा जिम्मेवार व्यक्तिलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने गृहमन्त्री खाणले चेतावनी दिएका छन् ।

राष्ट्रको सुरक्षा सबैको मूल दायित्व भएको भन्दै अझ अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा झन् सम्वेदनशील भएको बताएका छन् ।

Published : Sunday, 2022 March 6, 11:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया