नेविसंघको अध्यक्ष महिलालाई बनाउन माग

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्ष महिला (छात्रा)लाई बनाउन माग उठेको छ ।

विद्यार्थी नेतृहरूले छात्रालाई नेविसंघको अध्यक्ष बनाउन माग गरेका हुन् ।

नेविसंघमा अहिलेसम्म १९ जना अध्यक्ष भएका छन् । कोही पनि छात्रा अध्यक्ष भएका छैनन् ।

महिला नेतृहरूले पार्टीका केन्द्रीय पदाधिकारीहरूलाई भेटेर तदर्थ समितिको अध्यक्ष छात्रालाई बनाउन माग गरेका हुन् ।

उप–सभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सह–महामन्त्री भीष्मराज आङ्देम्बे, बद्री पाण्डे, जीवन परियारलगायत ज्ञापन पत्र बुझाएर छात्रालाई अध्यक्ष बनाउन नेतृहरूले माग गरेका हुन् ।

नेतृ गीता गुरुङले नेविसंघमा महिला नेतृत्व आए आगामी निर्वाचनमा समेत कांग्रेसलाई लाभ हुने बताएकी छिन् ।

उनीहरूले तदर्थ समिति गठन गर्दा समावेशी बनाउन आवश्यक रहेको बताएका छन् ।

कांग्रेसको गत महिना बसेको कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवालाई फागुन मसान्तभित्र भ्रातृ संस्थामा तदर्थ समिति गठनको अधिकार दिएको छ ।

Published : Saturday, 2022 March 5, 10:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया