रुसको आक्रमणको काठमाडौंमा विरोध, युक्रेनका लागि बौद्धमा दीप प्रज्वलन

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेपछि शान्तिको कामना गर्दै काठमाडौंको बौद्धमा दीप प्रज्वलन गरिएको छ ।

बिहीबार साँझ अमेरिका, युरोपियन युनियन (ईयू) का सदस्य मुलुक र शान्ति चाहने अन्य केही मुलुकका नेपालस्थित प्रतिनिधिले युक्रेनमा शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् ।

उनीहरूले रुसले तत्काल युद्धविराम गर्दै वार्तामा बस्नुपर्नेमा जोड दिएका छन् । सबै नागरिकले शान्तिपूर्वक बाँच्न पाउने अधिकारबारे उनीहरूले धारणा राखेका थिए ।

रुसले तत्काल युक्रेनमाथि आक्रमण बन्द गर्नुपर्ने उनीहरूको माग छ । रुस–युक्रेन युद्धमा ज्यान गुमाउनेको आत्माको शान्तिको कामना पनि त्यहाँ गरिएको थियो ।

अमेरिकी राजदूत र्‍यान्डी बेरीले रुसले तत्काल युद्धविराम गरेर वार्तामा बस्न पर्ने कुरा राख्दै त्यस क्षेत्रको शान्तिको कामना गरेका थिए ।

राष्ट्रसंघमा बुधबार राति भएको महासभा पनि १ सय ४१ मुलुकले युक्रेनको पक्षमा मतदान गरेका थिए । रुसका पक्षधर ५ देखिए भने ३५ ले कुनै पनि मत राखेनन् । १२ मुलुक अनुपस्थित रहेका थिए ।

नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ । नेपालले असंलग्न परराष्ट्र नीतिको अनुशरण गर्दै कमजोरको पक्षधरता देखाएको छ । दीप प्रज्वलनमा उनीहरूले प्रार्थनासमेत गरेका थिए ।

Published : Thursday, 2022 March 3, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया