भारतको सहयोगमा धनगढीमा प्रहरी विद्यालयको भवन निर्माण

काठमाडौं । भारतीय दूतावासको सहयोगमा कैलालीको धनगढीमा नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास र शिक्षक भवन निर्माण सम्पन्न भएको छ ।

नयाँ भवनको उद्घाटन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी र भारतीय दूतावासका प्रथम सचिव नवीन कुमारले बुधबार उद्घाटन गरेका हुन् ।

कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरकारका अधिकारीहरूको कार्यक्रममा उपस्थिति थियो ।

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सव अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरूमध्येको एक हो ।

भारत सरकारको आर्थिक सहयोगमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत ४ करोड २२ लाख ६० हजारको लागतमा नयाँ भवनहरुको निर्माण भएका हुन्। सन् १९८५ मा स्थापना भएको यो विद्यालयमा हाल ६ सय ६५ जना विद्यार्थी अध्ययनरत छन् । सन् २००३ यता भारतले नेपालमा ५ सय २३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ ।

भारतीय सहयोगमा ४ सय ६७ वटा परियोजनाहरु सम्पन्न भइसकेको छ । ती परियोजनारूमध्ये कैलाली जिल्लाका ८ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा परियोजना रहेका छन् । यसको अलावा, भारत सरकारले कैलाली जिल्लाका लागि ८ वटा एम्बुलेन्स र ७ वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय र बहुक्षेत्रीय विकास साझेदारी छ । भारत–नेपाल विकास सहकार्यअन्तर्गत निर्माण भएको यस नवनिर्मित संरचनाले शिक्षाको क्षेत्रमा नेपाल सरकारका प्रयासहरुलाई अझ सशक्त बनाउन भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

Published : Thursday, 2022 March 3, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया