कांग्रेस प्रतिपक्ष र सत्तामा बस्दा जे बोल्यो त्यही गर्‍यो, एमाले जस्तो दुई जिब्रे छैन : रामहरि खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले एमसीसीका विषयमा कम्युनिस्टहरूले गलत प्रचार गरेर जनतालाई भ्रममा पारेको बताएका छन् ।

ओखलढुंगाको चिशखुगढी गाउँ कार्यसमितिले मंगलबार आयोजना गरेको जेष्ठ नागरिक सम्मान तथा अगुवा नेता, कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले कांग्रेसका कारण एमसीसी प्रतिनिधि सभाबाट पारित भएको बताए ।

कांग्रेसले अडान लिएपछि बाध्य भएर कम्युनिस्टले एमसीसीमा साथ दिएको उनले बताए । राप्रपासहित साना एकसिटे दलहरूबाहेक सबैले एमसीसी पास गर्न सहयोग गरेको खतिवडाले बताएका छन् ।

‘एमसीसीका विषयमा गलत प्रचार भएको छ । हिजो बाटोमा आउँदा मलाई एकजना दाईले फोन गरेर एमसीसी पास भयो ।

अमेरिकी सेना अब ओखलढुंगा पनि आउछ रे हो ? भन्नुभयो’, खतिवडाले भने, ‘मैले जवाफ दिएँ । अमेरिकी सेना गलत नियातले ओखलढुंगा आए खुकुरी हान्न म आफैं अगाडि बढ्छु ।’

केन्द्रीय सदस्य खतिवडाले एमसीसीको गलत रुपमा प्रचार गरिएको भन्दै हल्लाको पछि नलाग्न अनुरोध गरेका छन् । उनले एमसीसी परियोजनाबाट नेपालमा विकास हुने बताए ।

जनताले झण्डै दुईतिहाईको बहुमत दिएर सरकारमा पठाउँदा समेत ४० महिनाभन्दा धेरै समय देश चलाउन नसकेको भन्दै खतिवडाले कम्युनिस्टको आलोचना गरे ।

‘देशलाई नेपाली कांग्रेसले जिम्मा लिनु पर्‍यो । हामी प्रतिपक्षमा बास्दा एकदिन पनि सदन र सडकमा चक्का जाम गरेनौं’, खतिवडाले भने, ‘प्रतिपक्षमा बस्दा जे भनेका थियौं, सत्तामा पुग्दा त्यो पूरा गर्‍यौं ।’

उनले एमाले जस्तो सत्तामा हुँदा एउटा कुरा, सत्ताभन्दा बाहिर हुँदा अर्को कुरा गर्ने पार्टी कांग्रेस नरहेको बताए । खतिवडाले एमालेलाई दुई जिब्रो भएको पार्टी भनेर आलोचना गरेका छन् ।

कांग्रेसले चुनाव हार्दा देशको राष्ट्रियता कमजोर भएको भन्दै खतिवडाले जनताको अधिकार समेत हनन् भएको बताए ।

कम्युनिस्टले जनताको अधिकार खोसेर कम्युनिस्टले अंकुश लगाउन खोजेको उनले आरोप लगाए ।

चुनाव जित्नेवितिकै घर–घरमा ग्याँस, कोशी नदीमा पानीजहाज चलाउने जस्ता सपनाहरू देखाएर कम्युनिस्टले जनतालाई झुक्काएको उनले उल्लेख गरेका छन् ।

‘चुनाव नजिकिँदै छ । सबै कांग्रेसका साथीहरूमा विनम्र अनुरोध छ । कोही मान्छे पार्टीले टिकट फाइनल नगरी व्याक्तिगत रुपमा कोही भोट माग्न आयो भने लखेट्नु होला’, उनले भने, ‘पार्टीले टिकट दिनेछ । आफू खुसी गर्नु हुँदैन ।’

कार्यक्रममा एमालेका स्थानीय कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई खतिवडाले पार्टीमा स्वागत गरेका हुन् ।

Published : Tuesday, 2022 March 1, 10:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया