कांग्रेसको आन्तरिक प्रतिस्पर्धालाई तिक्तताका रुपमा लिनु हुँदैन : सभापति बानियाँ

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले पार्टीको आन्तरिक प्रतिस्पर्धालाई तिक्तताका रुपमा लिन नहुने बताएका छन् ।

मंगलबार हेटौँडामा पार्टीको जिल्ला अधिवेशनमा सभापतिमा बुद्ध लामा ब्लोन सर्वसम्मत भएपछिको कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले आन्तरिक प्रतिस्पर्धालाई प्रतिशोधनका रुपमा राख्न नहुने बताए । अधिवेशनपछि एकताबद्ध भएर जानुपर्ने उनले बताए ।

सहमति र सहकार्यका साथ कांग्रेसले काम गरिरहेको बताएका उनले भने, ‘आन्तरिक प्रतिस्पर्धामा तिक्तता रह्यो होला । त्यसलाई अन्यथा लिनु हुँदैन ।’

‘इन्द्र बानियाँले कसैलाई काखा र पाखा गर्दैन’, बागमती प्रदेशका सभापति बानियाँले भने, ‘एकताबद्ध भएर कांग्रेसलाई लैजान्छौँ ।’

‘कांग्रेसमा नीति र आस्था सबैको एउटै छ’, उनले भने, ‘अधिवेशनमा नेतृत्वको प्रतिस्पर्धा भएको हो ।’

सभापति बानियाँले ५९ प्रतिशत जनजाती रहेको मकवानपुर जिल्लामा बुद्ध लामा ब्लोनलाई सर्वसम्मत सभापति बनाएर कांग्रेस सबैको पार्टी हो भन्ने सन्देश दिएको बताए ।

उनले भने, ‘टिकट दिने कुरामा न्याय भएको छ । हामीले पद्धतिलाई मिच्दैनौँ । गाउँ कार्यसमितिबाट आउने सिफारिसलाई सधैँ ध्यान दिइएको छ ।’

Published : Tuesday, 2022 March 1, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया