‘विप्लव’का अराजक कार्यकर्ताले पार्टी कार्यालय जलाएपछि कार्फ्यु लाग्यो

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरमा रहेको एमालेको पार्टी कार्यालय जलाउने तथा नेपाली कांग्रेस र माओवादी केन्द्रको कार्यालयमा तोडफोड भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

सोमबार नेपाल बन्दकर्ताका अराजक समर्थकहरूले वीरेन्द्रनगरमा एमालेको पार्टी कार्यालयमा आगो लगाएको छ । कांग्रेस र माओवादी केन्द्रका पार्टी कार्यालयमा तोडफोड भएको छ ।

एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ एमसीसी विरोधी प्रदर्शन चर्किएको थियो । बन्दकर्ताहरूले नै पार्टी कार्यालयहरूमा आक्रमण गरेको प्रहरीको भनाइ छ ।

प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

प्रदर्शन नरोकिएको र तोडफोड हुन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिएका छन् ।

सुरक्षाकर्मीले भीडलाई तितरबितर पार्न तीन दर्जनभन्दा बढी राउण्ड अश्रुग्याँस प्रहारसमेत गरेको छ ।

Published : Monday, 2022 February 28, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया