युक्रेनद्वारा रुसविरुद्ध डटेर सामना गर्दै, रुसका ४५० सैनिकलाई ढालिदियो
लण्डन । रुसले युक्रेनमा आक्रमण जारी राखेको छ । रुसी सेना युक्रेनको राजधानी किएभको बाहिरी भेगमा पुगेपछि ठूलो संघर्ष भइरहेको विवरण प्राप्त भएको बीबीसीले जनाएको छ ।
रुसले आक्रमण गरेको भए पनि युक्रेनले मुख्य सहरहरूमा आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको शनिबार तेस्रो दिन भएको छ ।
रुसी सेना विभिन्न मोर्चामा अघि बढिरहेको भएपनि युक्रेनी सुरक्षाकर्मीले प्रतिकार गरेको रक्षा मन्त्रालयले जनाएको छ ।
उता, संयुक्त राष्ट्रसंघका महासचिवले रुसी सेनालाई ब्यारेकमा फर्किन आग्रह गरेका छन् ।
किएभमा रात्रि कर्फ्यू लगाइएको थियो । ठूलो संख्यामा मानिसहरूले मेट्रो स्टेशनमा आश्रय लिएका थिए ।
रुसी सैनिकहरू युक्रेनको राजधानी किएभको उत्तरी भेगमा पुगेको युक्रेनले जनाएको छ । भिडिओमा रुसी सैन्य वाहनहरू देखिएका छन् ।
सरकारले नागरिकहरूलाई मोलोटोभ ककटेल बनाएर सहरको रक्षा गर्न आह्वान गरेको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार देशभरि भएका हवाई आक्रमणहरूमा परेर कम्तीमा २५ गैरसैनिक नागरिकको मृत्यु भएको छ । १०२ जना घाइते भएका छन् ।
यूकेका रक्षामन्त्रीका अनुसार रुसका ४५० सैनिकको मृत्यु भएको छ । रुसभन्दा सैन्य क्षमतामा निकै कमजोर युक्रेनले रुसी सेनाविरुद्ध डटेर सामना गरिरहेका छन् ।
युक्रेनका राष्ट्रपतिले यूके तथा अन्य मित्रराष्ट्रलाई रुसी आक्रमण रोक्न सहयोग गर्न आग्रह गरेका छन् ।
युक्रेनका राष्ट्रपतिले रुसले आफूलाई सिद्ध्याएर युक्रेनलाई राजनीतिक रूपमा रुसले ध्वस्त पार्न चाहेको बताएका छन् ।
ब्ल्याक सीस्थित एउटा टापुमा आत्मसमर्पण गर्न नमान्ने १३ युक्रेनी सीमारक्षको हत्या भएको बीबीसीले जनाएको छ ।
रात्रिकालीन निषेधाज्ञा लगाइएको राजधानी किएभमा रुसको सम्भावित हवाई आक्रमणबाट जोगिन कैयौँ सर्वसाधारणले मेट्रो स्टेशनमा आश्रय लिएका छन् ।
युरोपेली संघका शीर्ष नेतृत्वकर्ताहरूले रुसमाथि थप प्रतिबन्ध लगाउने विषयमा सहमति जनाएका छन् । अमेरिकाले पनि रुसका बैंक र सरकारी कम्पनीलक्षित प्रतिबन्धहरूको घोषणा गरेको छ ।
रुसको रक्षा गर्न अन्य कुनै विकल्प नरहेको बताउँदै राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो प्रतिरक्षा गरेका छन् ।
उता, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेनबारेको एक प्रस्तावमा रुसले भिटो पावरको प्रयोग गरेर त्यसलाई रोकिदिएको छ ।
रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्ने प्रस्तावमा स्थायी सदस्य राष्ट्र रुसले भिटो प्रयोग गरेको हो । यस प्रस्तावको पक्षमा ११ सदस्यले भोट दिए । भारत, चीन र युएईले भोटिङमा भाग लिएनन् ।
युक्रेनमा रुसी आक्रमणलाई रोक्ने र सेनालाई फिर्ता बोलाउने विषयमा मतदान गराइएको थियो ।
रुस सुरक्षा परिषदका पाँच स्थायी सदस्यमध्ये एक हो । सुरक्षा परिषदका स्थायी सदस्यमा रुससँगै अमेरिका, चीन, फ्रान्स र ब्रिटेन छन् । उनीहरुसँग भिटो पावर प्रयोग गर्ने अधिकार रहन्छ ।
सुरक्षा परिषदको बैठकमा रुसी राजदूतले युक्रेनमाथि गरिएको आक्रमणको बचाउ गर्दै डोनबास क्षेत्रका युक्रेनी नागरिकको सुरक्षाका लागि यो कदम उठाएको बताएका थिए ।
यसैगरी अमेरिकी राजदूतले युक्रेनमा गरिएको आक्रमणको निन्दा गर्दै रुसले भिटोको गलत प्रयोग गरेको बताएकी थिइन् ।
युक्रेनका राष्ट्रपतिले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा युक्रेनमाथि गरिएको आक्रमणको विषय उठाएको भन्दै सदस्य राष्ट्रहरुलाई धन्यवाद दिएका छन् । रुसको भिटो पावरबारे टिप्पणी गर्दै उनले भनेका छन्, ‘यो रगतको दाग जस्तै हो ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया