मूर्ति चोरका दिनगन्ती शुरु, कारबाही गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बालकुमारी माताको मूर्ति चोरलाई कारबाही गर्न निर्देशन दिएका छन् ।
शनिबार ललितपुरको सुनाकोठीको बालकुमारी मन्दिरको चोरी भएको बालकुमारी माताको मूर्ति पुनःस्थापना, क्षमा पूजा र अनुसन्धानमा संलग्न पदाधिकारीलाई सम्मान कार्यक्रममा गृहमन्त्री खाणले सार्वजनिक सम्पत्तिको सुरक्षामा गतिशील भएर लाग्न ललितपुरको प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिए ।
‘सार्वजनिक सम्पत्तिको खोजिनिती गर्न ललितपुर प्रहरी अझै गतिशील भएर लागोस् । मूर्ति चोरी गर्ने चोरहरु कारबाहीमा परुन, म गृहमन्त्रालयको तर्फबाट उहाँहरूलाई निर्देशन दिन चाहन्छु’, गृहमन्त्री खाणले भने, ‘मन्दिरको सुरक्षाका लागि मन्दिर व्यवस्थापन समितिका साथीहरूसँग बसेर ललितपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुले कार्ययोजना बनाउनुहोस् ।’
उनले मूर्ति चोरी हुने वातावरण नबनोस्, भन्ने सर्तकताका लागि र आवश्यक व्यवस्थापनका लागि पनि प्रशासन र सुरक्षा निकायका पदाधिकारीलाई निर्देशन दिए ।
माघ ९ गते हराएको बालकुमारी माताको मूर्ति १९ दिनपछि माघ २८ गते भेटिएको थियो ।
गृहमन्त्री खाणले नेपाल विविधताले भरिपूर्ण मुलुक भएको भन्दै विविधताबीच एकताका साथ अगाडि बढ्नु पर्ने बताए ।
उनले भने, ‘नेपाल विविधताले भरिपूर्ण छ । जातीय विविधता, धार्मिक विविधता, सास्कृतिक विविधता, हावापानीमा विविधता नेपालमा छ । यो विविधताबीच हामी सबै एकताका साथ अगाडि बढ्नु पर्छ ।’
उनले नेपालका परम्परा, रितिथिति र स्थापित मठ मन्दिरहरूले नेपालीहरूलाई सदैव एकतामा बाधेका बताए ।
नेपालीले आफूले अबलम्बन गर्ने धर्मप्रति अर्काले अबलम्बन गर्ने धर्मप्रति पनि सम्मान गर्ने क्षमता राख्ने उनले बताए ।
‘हामी आफूले अबलम्बन गर्ने धर्मप्रति पनि सम्मान प्रकट गर्दछौँ । अरुले अबलम्बन गरेको धर्मका प्रति पनि हाम्रो सम्मान रहेको छ । धार्मिक सदभावलाई बचाउन र खलबलिन नदिन हामी सबै जिम्मेबार हुनुपर्छ’, गृहमन्त्री खाणले भने ।
गृहमन्त्री खाणले नेपाली नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको भन्दै नागरिकको अकालमा मृत्यु नहोस्, प्राकृतिक विपत्तिबाट मृत्यु नहोस् भन्नेमा सरकार सधै सतर्क र संवेदनशील रहेको बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया