अध्यक्षमा हारेपछि मुर्छित परेका कमल थापाले राप्रपा नेपाल ब्यूँताए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा पराजित भएपछि तनाबमा रहेका कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाललाई ब्यूँझाएका छन् ।

आइतबार विज्ञप्ति जारी गरेर थापाले आफू पुरानो घरमा फर्किएको बताएका छन् । उनले राप्रपा नेपाल ब्यूँताएको बताएका छन् ।

‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरूको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ’, थापाले भनेका छन् ।

‘केही समयको अलमलपछि फेरि हामी आफ्नो घर फर्केका छौँ’, थापाले भने, ‘यस कार्यलाई संभव तुल्याई दिनुहुने तथा अन्तरिम र संक्रमणकालीन अवस्थामा राप्रपा नेपाललाई जीवन्त तुल्याई राख्न महत्वपूर्ण योगदान दिनुहुने राप्रपा नेपालका नेता लाक्पा तामाङ प्रति म हार्दिक आभार व्यक्त गर्दछु ।’

राप्रपा नेपाल २०६३ सालको राजनीतिक परिवर्तनपछि अलग पहिचान, फरक विचार र वैकल्पिक मार्गचित्र बोकेर नेपालको राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रवादी प्रजातान्त्रिक शक्ति रहेको थापाले बताएका छन् ।

‘२०७३ सालदेखि हामीले बाटो विरायौँ’, उनले भने, ‘पार्टी ठूलो बनाउने नाममा अति महत्वाकांक्षा र सत्ता केन्द्रित रणभुल्लमा प¥यौ ।’

उनले भने, ‘गम्भीर राजनीतिक भुलका श्रृखंलाहरू शुरु भए । असहज र गलत प्रवृत्तिहरूसंग सम्झौता गर्न थाल्यौं ।’

‘फलस्वरुप हामी करिव पाँच वर्ष राष्ट्रिय राजनीतिमा करिव करीव निस्क्रिय, प्रभावविहीन हुन पुग्यौं’, उनले भनेका छन् ।
‘राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित सम्बर्द्धनवादको मूल शक्ति राप्रपा नेपाल हो भन्ने कुनै द्विविधा छैन’, थापाले भनेका छन् ।

राप्रपा नेपालको विरासतलाई निरन्तरता दिंदै अबदेखि हिन्दुराष्ट्र, सुशासन र समृद्धि राप्रपा नेपालको मूल एजेण्डा हुने थापाले बताएका छन् ।

उनले भने, ‘जनताको भावना र देशको धरातलीय यथार्थलाई दृष्टिगत गर्दै केही मान्यताहरू, प्राथमिकताहरू र कार्यनीतिमा हामी समयानुकुल परिमार्जन गर्नेछौं ।’

उनले आगामी स्थानीय तहको निर्वाचनमा आफूहरू सक्रियताका साथ सहभागी हुने बताएका छन् । राप्रपा नेपालको घोषणासभा फागुन ७ गते काठमाडौंमा हुनेछ ।

Published : Sunday, 2022 February 13, 2:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया