गगन र व्यवसायीहरूबीच भेट, वैदेशिक रोजगारीको सिण्डिकेटको विरोध

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग भेट गरेर मेनपावर कम्पनीहरूको वर्गीकरणका नाममा सिण्डिकेट लागू गर्न खोजेको भन्दै गुनासो गरेका छन् ।

कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरममा आबद्ध व्यवसायीहरूले बुधबार थापासँग भेट गरेर मेनपावर कम्पनीहरूमा लागू हुन लागेको सिण्डिकेट अन्त्यको माग गरेका हुन् ।

उनीहरूले श्रम तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाको रोजगारीमा सिण्डिकेट लागू गर्न खोजेको आरोप लगाएका छन् ।

श्रममन्त्री श्रेष्ठ आर्थिक प्रलोभनमा परेर मलेसियाको रोजगारीका लागि केही मेनपावर कम्पनीहरूलाई मात्रै अनुमति दिने गरेर काम अगाडि बढाएपछि कांग्रेस निकटका व्यवसायीहरूले विरोध जनाएका हुन् ।

महामन्त्री थापाले वैदेशिक रोजगारीको विषयमा सिण्डिकेट लागू गर्न नहुनेभन्दै मलेसियाको विषयमा उठेका कुराहरूमा आफू गम्भीर रहेको जनाएका छन् । उनले यो विषयलाई आफूले समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

महामन्त्री थापासँगको भेटका लागि वरिष्ठ वैदेशिक रोजगार व्यवसायीहरू किरणकिशोर घिमिरे, विमल ढकाल, फोरमका अध्यक्ष नरेन्द्रप्रसाद ढकाल, फोरमका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने लगायतका व्यवसायीहरू गएका थिए ।

Published : Wednesday, 2022 February 9, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया