इलामको एयरपोर्टमा सफल परीक्षण उडान, निगमको जहाज १ घण्टामा पुग्यो

काठमाडौं । नेपाल वायुसेवा निगमले ट्वीन अट्टर विमानद्वारा काठमाडौं–इलामको सफल परीक्षण उडान गरेको छ ।

निगमको नाईन एन एबीटी विमानद्वारा बुधबार बिहान सफल परीक्षण उडान गरेको प्रवक्ता अर्चना खड्काले विज्ञप्तिमार्फत जनाएकी छिन् ।

ट्वीन अट्टर विमान बिहान ०९:०५ मा काठमाडौंस्थित त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा बिहान १०:०२ बजे सकुशल अवतरण गरेको विज्ञप्तिमा उल्लेख छ ।

परीक्षण उडानको प्रतिवेदन तयार भएपछि सुरक्षाका सम्पूर्ण सिफारिसहरू अवलम्बन गर्ने गरी निगमले नियमित उडान सञ्चालनको तयारीको प्रक्रिया अघि बढाउने निगमले जनाएको छ ।

यसैबीच निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले व्यवस्थापनको तर्फबाट चालक दल तथा नेपाल नागरिक उड्डयन प्राधिकरण समेतका सम्पूर्ण प्राविधिक टोलीलाई धन्यावाद दिएका छन् ।

इलाम कार्यकारी अध्यक्ष अधिकारीको गृहजिल्ला पनि पर्छ । सफल परीक्षण उडान भएसँगै इलामका जनतामा खुसीयाली थपिएको छ । इलाम–काठमाडौंको हवाइ यात्रा अब १ घण्टामा हुनेछ ।

Published : Wednesday, 2022 February 9, 1:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया